दुई लाखभन्दा बढी अनलाइन बेटिङ एप र वेबसाइट बन्द
काठमाडौँ, ८ साउन- नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द गरेको जनाएको छ। सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो। सोही निर्णयअनुसार सञ्चालनमा रहेका बेटिङ वेबसाइट बन्द गरिए पनि नयाँ नाममा पुनः खुल्ने क्रम जारी रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार यस वर्षको फिफा विश्वकप सुरु भएयता दुई लाख २३ हजार ५ सय ६८ वटा बेटिङ एप तथा वेबसाइट बन्द गरिएको छ। विश्वकपका बेला यस्ता एपको प्रयोग बढ्न सक्ने अनुमानपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासोमा प्राधिकरणले विशेष अभियान सञ्चालन गरेको हो। यसका लागि गठन गरिएको कार्यदलले इन्टरनेट सेवा प्रदायकसँगको सहकार्यमा अवैधानिक वेबसाइटका युआरएल ब्लक गर्दै आएको जनाएको छ।
प्राधिकरणका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार एउटा वेबसाइट बन्द भएपछि अर्को नयाँ वेबसाइट खुल्ने चुनौती रहेकाले ‘थ्रेट इन्टेलिजेन्स टुल’ प्रयोग गरी यस्ता साइटको निरन्तर पहिचान र अवरोध गर्ने काम भइरहेको छ। प्राधिकरणले अवैधानिक बेटिङ वा वित्तीय कारोबार हुने वेबसाइटबारे जानकारी भए सम्बन्धित आधिकारिक माध्यममार्फत सूचना उपलब्ध गराउन पनि आग्रह गरेको छ।

