विद्युत् व्यापारमा नेपालको नयाँ कीर्तिमान, एक वर्षमै २९ अर्बभन्दा बढीको बिजुली निर्यात

काठमाडौँ, ७ साउन – नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारमा नयाँ कीर्तिमान कायम गरेको छ। भारत र बङ्गलादेशतर्फ विद्युत् निर्यातबाट नेपालले २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशत बढी हो।

प्राधिकरणका अनुसार समीक्षा अवधिमा नेपालले ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट (kWh) विद्युत् निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो। यस वर्ष निर्यात परिमाण ६२.८९ प्रतिशतले वृद्धि भएको हो।

भारतीय ऊर्जा बजार आईईएक्स–डीएएम (IEX-DAM), आईईएक्स–आरटीएम (IEX-RTM), एनभीभीएन (NVVN) तथा बङ्गलादेशसँगको त्रिपक्षीय विद्युत् व्यापारमार्फत औसत ७ रुपैयाँ ५६ पैसा प्रतियुनिटका दरले विद्युत् बिक्री गरिएको प्राधिकरणले जनाएको छ।विद्युत् निर्यात बढेसँगै बाह्य स्रोतबाट हुने आयातमा भने उल्लेखनीय कमी आएको छ। आर्थिक वर्ष २०८२/८३ मा नेपालले १ अर्ब १४ करोड ९८ लाख युनिट विद्युत् आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३१.५७ प्रतिशत कम हो।

आयात परिमाण घटेसँगै विद्युत् खरिदमा हुने खर्च पनि घटेको छ। समीक्षा वर्षमा विद्युत् आयातका लागि १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँ खर्च भएको छ, जुन अघिल्लो आर्थिक वर्षको १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँको तुलनामा १८.२९ प्रतिशत कम हो। निर्यात आम्दानीबाट आयात खर्च कटाउँदा नेपालले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् व्यापारबाट १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत (नेट ट्रेड सरप्लस) हासिल गरेको छ।

अघिल्लो आर्थिक वर्षमा यस्तो बचत ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ मात्रै रहेको थियो। यसअनुसार एक वर्षमै खुद व्यापार बचत ३१३ प्रतिशतले वृद्धि भएको प्राधिकरणको तथ्याङ्कले देखाएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभित्र जलविद्युत् उत्पादनमा भएको वृद्धि, सीमापार प्रसारण लाइन विस्तार तथा प्रभावकारी ऊर्जा व्यवस्थापनका कारण विद्युत् निर्यात उल्लेखनीय रूपमा बढेको हो। यसले नेपाल दक्षिण एसियामा आत्मनिर्भर र नाफामूलक ऊर्जा निर्यातक राष्ट्रका रूपमा स्थापित हुँदै गएको संकेत गरेको प्राधिकरणको भनाइ छ।

Facebook Comments Box