मेचीनगरका दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालन हुन सकेनन्
झापा, ७ साउन – मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। नीतिगत कमजोरी, निजी सेफ्टी ट्याङ्करको प्रभावकारी नियमन नहुनु तथा पर्याप्त मात्रामा लेदो सङ्कलन हुन नसक्दा केन्द्रहरू अपेक्षाअनुसार सञ्चालन हुन नसकेको हो।
एसियाली विकास बैंक (एडीबी) र बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोग तथा खानेपानी मन्त्रालय र स्थानीय तहको लागत साझेदारीमा सात वर्षअघि मेचीनगर–१४ दुहागढी र वडा नं. ७ भान्सा खोलामा प्रशोधन केन्द्र निर्माण गरिएको थियो। दुहागढीस्थित केन्द्रले दैनिक २७ घनमिटर र भान्सा खोलास्थित केन्द्रले १२ घनमिटरसम्म दिसाजन्य लेदो प्रशोधन गर्न सक्ने क्षमता राख्छन्। प्रशोधनपछि लेदोलाई कम्पोस्ट मल र सुरक्षित पानीमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ।
चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव प्रेमराज घिमिरेका अनुसार आवश्यक पूर्वाधार, ट्याङ्कर र जनशक्ति उपलब्ध भए पनि सबै दिसाजन्य लेदो प्रशोधन केन्द्रमै ल्याउने प्रभावकारी व्यवस्था नहुँदा केन्द्रको क्षमता उपयोग हुन सकेको छैन। उहाँले सेवा शुल्कबाट प्राप्त आम्दानीले सञ्चालन खर्चसमेत धान्न नसकेको बताउनुभयो।
काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कार्यालय प्रमुख दीपकप्रसाद पोखरेलले पनि केन्द्र बन्द नभए पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको र आम्दानीभन्दा सञ्चालन खर्च बढी रहेको जानकारी दिनुभयो। मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले निजी सेफ्टी ट्याङ्करलाई अनिवार्य रूपमा नगरपालिकामा दर्ता गर्ने, जथाभाबी दिसाजन्य लेदो विसर्जन गर्नेलाई जरिवाना तथा कानुनी कारबाही गर्ने नीति लागू गरिने बताउनुभयो।
उहाँका अनुसार सरसफाइ तथा दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी ऐन र कार्यविधिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै प्रशोधन केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी भइरहेको छ। सरसफाइ क्षेत्रका विज्ञहरूले सेप्टिक ट्याङ्कीबाट निस्कने दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापन हुन नसके वातावरण प्रदूषणका साथै जनस्वास्थ्यमा गम्भीर असर पर्ने चेतावनी दिएका छन्। त्यसैले प्रशोधन केन्द्रको प्रभावकारी सञ्चालन र लेदो व्यवस्थापन प्रणालीलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

