पहिरो र बाढीले बीपी राजमार्ग र कान्तिलोकपथ अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौँ,  ३ साउन – अविरल वर्षासँगै आएको पहिरो र नदीमा पानीको बहाव बढेपछि बीपी राजमार्ग र कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरीका अनुसार कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाङदुर क्षेत्रमा पहिरो खसेपछि चापागाउँ हुँदै हेटौँडातर्फ जाने सवारी आवागमन रोकिएको छ।

यस्तै, बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खस्नुका साथै रोशी खोलामा पानीको बहाव बढेपछि सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले काभ्रे हुँदै सिन्धुलीतर्फ जाने सवारीसाधनलाई सुरक्षित स्थानमा रोकेर राखेको जनाएको छ।

अरनिको राजमार्गमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा पहिरो खसेको तथा भोटेकोशी गाउँपालिका–४ जिरोकिलो क्षेत्रमा सडक भासिएपछि सवारी आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ।उता पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोला क्षेत्रमा गएराति खसेको पहिरो भने हटाइएकाले उक्त सडकखण्डमा अहिले दुवैतर्फ सवारी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार नारायणगढ–मुग्लिन र मुग्लिन–काठमाडौँ सडकखण्ड भने हालसम्म निर्वाध रूपमा सञ्चालनमा रहेका छन्। प्रहरीले वर्षायाममा पहिरो र बाढीको जोखिम बढेकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न तथा जोखिमयुक्त मार्गमा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Facebook Comments Box