सिरहामा सशस्त्र प्रहरीद्वारा १५ लाखभन्दा बढीका अवैध सामान बरामद

सिरहा, साउन २ – सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण मुख्यालय, सिरहाले सीमावर्ती क्षेत्रमा सञ्चालन गरेको निगरानी तथा चेकजाँचका क्रममा करिब १५ लाख ४९ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार साउन १ गते जिल्लाका विभिन्न सीमा नाकामा गरिएको निगरानीका क्रममा अवैध रूपमा नेपाल भित्र्याइएका किराना सामग्री, कपडा, मोटरसाइकल, मदिरा तथा विभिन्न पेय पदार्थ बरामद गरिएको हो।

बरामद गरिएका सामानको अनुमानित मूल्य रु. १५ लाख ४८ हजार ८७० रहेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा बुझाइएको जनाएको छ। सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी–तस्करी तथा राजस्व छली नियन्त्रणका लागि नियमित रूपमा निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

Facebook Comments Box