मधेस प्रदेशले लक्ष्यको ७० प्रतिशत राजस्व सङ्कलन
जनकपुरधाम, २ साउन – मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको करिब ७० प्रतिशत राजस्व सङ्कलन गर्दै रु ३२ अर्ब ८८ करोड ६० लाख राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा सङ्कलित कुल राजस्वमध्ये आन्तरिक राजस्व रु पाँच अर्ब ७६ करोड ५६ लाख रहेको छ।
प्रदेश सरकारले सबैभन्दा बढी घरजग्गा रजिस्ट्रेशन शुल्कबाट रु एक अर्ब ७७ करोड ९५ लाख तथा सवारीसाधन करबाट रु दुई अर्ब २७ करोड ८० लाख राजस्व सङ्कलन गरेको छ। यस्तै, सवारीचालक अनुमतिपत्र वितरण तथा सवारी दर्ता दस्तुरबाट रु ७९ करोड ५६ लाख, यातायात क्षेत्रबाट रु १२ करोड ६३ लाख तथा दहत्तर–बहत्तर बिक्रीबाट रु २० करोड १५ लाख राजस्व प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।
प्रदेश सरकारले सङ्घीय सरकारबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर (भ्याट) बापत रु आठ अर्ब ८६ करोड ८५ लाख र अन्तःशुल्क करबापत रु तीन अर्ब २० करोड ४३ लाख प्राप्त गरेको छ। त्यसैगरी, सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत रु सात अर्ब छ करोड १६ लाख, सशर्त चालु अनुदानतर्फ रु दुई अर्ब १७ करोड २७ लाख र सशर्त पुँजीगत अनुदानतर्फ रु एक अर्ब ५६ करोड ३० लाख प्राप्त भएको मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयका सूचना अधिकारी अंशकुमार झाका अनुसार आर्थिक तरलताका कारण घरजग्गा कारोबार र नयाँ सवारीसाधनको खरिद–बिक्रीमा आएको कमी, साथै गत भदौ २३ र २४ गते भएको जनआन्दोलनका क्रममा राजस्व सङ्कलन गर्ने सरकारी निकायमा पुगेको क्षतिका कारण अपेक्षाअनुसार राजस्व सङ्कलन हुन नसकेको हो।

