लेबलविहीन र कम गुणस्तरका जुत्ता–चप्पल बिक्री नगर्न विभागको आग्रह
काठमाडौँ, २ साउन – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबलविहीन, नक्कली, कम गुणस्तरका तथा चोरी पैठारी गरिएका जुत्ता–चप्पललगायत फुटवेयरको बिक्री–वितरण नगर्न उत्पादक, आयातकर्ता तथा व्यवसायीलाई आग्रह गरेको छ। विभागले बजारमा यस्ता फुटवेयर भौतिक पसल तथा डिजिटल प्लेटफर्ममार्फत बिक्री भइरहेको भन्ने उजुरी र गुनासा प्राप्त भएपछि शुक्रबार सूचना जारी गर्दै कानुनको पूर्ण पालना गर्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको हो।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उत्पादकले उत्पादन गरेको वस्तुमा अनिवार्य रूपमा तोकिएको विवरणसहितको लेबल राख्नुपर्ने, आयातकर्ताले कानुनबमोजिमका सबै सर्त पूरा गर्नुपर्ने तथा विक्रेताले गुणस्तरीय वस्तु बिक्री गर्ने दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ। सूचनामा उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता तथा विक्रेतालाई कानुनले तोकेका दायित्व र मापदण्डको पालना गर्दै मात्रै उद्योग–व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको छ।
विभागले कानुनविपरीत लेबलविहीन, नक्कली, कम गुणस्तरका वा अवैध रूपमा पैठारी गरिएका फुटवेयर उत्पादन तथा बिक्री–वितरण गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ। विभागले उपभोक्ताको गुणस्तरीय र सुरक्षित वस्तु प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न बजार अनुगमनलाई थप प्रभावकारी बनाइने जनाएको छ।

