नेपाल औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी
काठमाडौँ, साउन २ – सरकारले स्वदेशमै अत्यावश्यक औषधिको उत्पादन बढाउने योजनाअन्तर्गत नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारीपत्र (एमओयू) गर्ने प्रक्रिया अघि बढाइएको छ। हाल लिमिटेडबाट ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन हुँदै आएको छ।
सरकारले आगामी चरणमा उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगका औषधिसमेत स्वदेशमै उत्पादन गर्ने लक्ष्य लिएको छ। त्यसका लागि आवश्यक अनुसन्धान, विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति तथा प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयले जनाएको छ।कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने र सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अपनाइने मन्त्रालयको तयारी छ।
समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच नियमित तथा संस्थागत प्रणालीमार्फत हुने व्यवस्था मिलाइने जनाइएको छ। यसबाट सरकारी खरिद प्रक्रिया थप व्यवस्थित हुनुका साथै लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मन्त्रालयले नेपाल औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गरिने जनाएको छ। सरकारले यस पहलमार्फत स्वदेशी औषधि उद्योगको प्रवर्द्धन, औषधिमा आत्मनिर्भरता वृद्धि, आयातमा निर्भरता न्यूनीकरण तथा नागरिकलाई गुणस्तरीय र सुलभ अत्यावश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्ने दीर्घकालीन लक्ष्य हासिल हुने विश्वास व्यक्त गरेको छ।

