सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, कोसी ब्यारेजका २० ढोका खोलियो
सुनसरी, ३० असार – पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा लगातार भइरहेको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ। बहाव बढेसँगै सम्भावित जोखिमलाई ध्यानमा राख्दै कोसी ब्यारेजका थप ढोका खोलिएको छ। सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार कोसी ब्यारेजमा हाल प्रति सेकेन्ड एक लाख ७२ हजार ४३२ क्युसेक पानीको बहाव मापन गरिएको छ।
बढ्दो बहावलाई व्यवस्थापन गर्न ५२ वटा मूल ढोका र दुई वटा नहरका गरी ५६ ढोकामध्ये २० वटा ढोका खोलिएको उनले जानकारी दिए। पानीको बहाव अझै बढ्ने क्रममा रहेकाले कोसी ब्यारेजमा रातो बत्ती बालिएको छ भने रातो झण्डा पनि फहराइएको कोसी ब्यारेजको कन्ट्रोल रुमले जनाएको छ। प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन, नदी किनारमा अनावश्यक आवतजावत नगर्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचना पालना गर्न आग्रह गरेको छ।

