आजको तरकारी तथा फलफूलको थोक मूल्य

काठमाडौं, २७ असार – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्याज, हरियो तरकारी, फलफूल, मसला तथा माछाका मूल्यमा विविधता देखिएको छ।

गोलभेँडा (ठूलो–नेपाली) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा (सानो–लोकल) १० रुपैयाँ र टनेलमा उत्पादन भएको सानो गोलभेँडा २० रुपैयाँ कायम गरिएको छ। रातो आलु (लाम्चो) ४७ रुपैयाँ, रातो आलु (गोलो) र मुढे आलु ४५ रुपैयाँ, भारतीय रातो आलु तथा सेतो आलु प्रतिकिलो ३० रुपैयाँमा कारोबार भइरहेको छ। भारतीय सुकेको प्याजको थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ तोकिएको छ।

हरियो तरकारीतर्फ स्थानीय गाजर १०० रुपैयाँ र तराईको गाजर ९० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। स्थानीय बन्दा ५०, स्थानीय काउली ४०, रातो मूला ३०, सेतो मूला २०, लाम्चो भन्टा २५ र डल्लो भन्टा ३५ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। सिमी, बोडी र अन्य तरकारीमध्ये बोडी तने ३५ रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, घिउ सिमी ५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, भटमासको कोसा १२० रुपैयाँ, तीते करेला र लौका ३५ रुपैयाँ, घिरौँला ४० रुपैयाँ तथा पाकेको फर्सी ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।

सागपाततर्फ रायो ४० रुपैयाँ, पालुङ्गो र चम्सुरको साग ६० रुपैयाँ तथा तोरीको साग ५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। च्याउमध्ये कन्य च्याउ २८० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ एक हजार रुपैयाँ प्रतिकिलो तोकिएको छ।फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती १७० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह आँप १५० रुपैयाँ, दशहरी आँप १६० रुपैयाँ र हरियो तरबुजा ७० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

यस्तै, काँक्रो (लोकल) ८० रुपैयाँ, हाइब्रिड काँक्रो २५ रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ तथा हरियो नरिवल १७० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको समितिले जनाएको छ। मसला तथा अन्य कृषि उपजमध्ये अदुवा प्रतिकिलो २०० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, हरियो लाम्चो खुर्सानी ४० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, हरियो धनियाँ ८० रुपैयाँ, चाइनिज लसुन २२० रुपैयाँ र नेपाली लसुन १८० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

माछातर्फ ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा र छडी माछा ३००–३०० रुपैयाँ तथा सुकेको माछा एक हजार रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

Facebook Comments Box