दाउन्नेको सास्ती हट्दै : बर्खामै सहज बन्यो नारायणघाट–बुटवल यात्रा
नवलपरासी, २७ असार – विगतका वर्षमा सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारी जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बन्दै गएको छ। नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खायाममा समेत सवारी आवागमन सुचारु हुन थालेको हो। गत वर्षसम्म सडक विस्तार, पहिरो पन्छाउने काम, वर्षा र सवारी बिग्रिएपछि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गर्थ्यो। विशेषगरी बर्खा र हिउँदमा हजारौँ यात्रुले घण्टौँ सडकमै बिताउनुपर्ने अवस्था थियो।
तर अहिले अधिकांश सडक कालोपत्र भइसकेकाले यात्रुले विगतजस्तो सास्ती भोग्नुपरेको छैन। तथ्याङ्कअनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको थियो। यस वर्ष भने त्यस्तो अवस्था दोहोरिएको छैन।
यो सडक नियमित प्रयोग गर्ने चालक रामु भुसालका अनुसार पहिले दाउन्ने पार गर्नै घण्टौँ लाग्थ्यो, तर अहिले सडक फराकिलो र कालोपत्र भएकाले यात्रा निकै सहज बनेको छ। उहाँले यात्राको समय पनि उल्लेखनीय रूपमा घटेको बताउनुभयो।
विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले दाउन्नेको समस्या राष्ट्रिय चिन्ताको विषय बनेको स्मरण गर्दै सडक विस्तार अन्तिम चरणमा पुगेपछि स्थानीय, व्यवसायी र यात्रुले राहत महसुस गर्न थालेको बताउनुभयो। उहाँका अनुसार सहज आवागमनले स्थानीय अर्थतन्त्र, पर्यटन र जनजीवनमा सकारात्मक प्रभाव पर्न थालेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले पनि गत वर्षको तुलनामा यस वर्ष सवारी व्यवस्थापन निकै सहज भएको बताउनुभयो। उहाँका अनुसार सडकको अवस्था सुधारिएसँगै लामो जामको समस्या न्यून भएको छ भने प्रहरी र आयोजनाबीचको समन्वयले यातायात व्यवस्थापन थप प्रभावकारी बनेको छ।
नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इन्जिनियर शिव खनालका अनुसार मुख्य सडकको कालोपत्र र कङ्क्रिट ढलान सम्पन्न भएसँगै यात्रुहरूले सहज यात्रा गर्न थालेका छन्। उहाँले हालसम्म पूर्वी खण्डको समग्र भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको जानकारी दिँदै अब सडक सुरक्षा, लेन मार्किङ, साइनबोर्ड र रेलिङ जडानलगायतका अन्तिम काम भइरहेको बताउनुभयो।
एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटवल सडकको पूर्वी खण्डमा मुख्य निर्माण कार्य सम्पन्न भइसकेको छ। आयोजनाका अनुसार अब केही सहायक संरचनाको काम मात्र बाँकी रहेकाले विगतमा जस्तो सामान्य वर्षामै घण्टौँ सडक अवरुद्ध हुने अवस्था धेरै हदसम्म अन्त्य भएको छ।

