सूर्यविनायक नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषित

भक्तपुर, २७ असार – भक्तपुरको सूर्यविनायक नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ। शुक्रबार नगरपालिकाको कार्यालय कटुञ्जेमा आयोजित कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले नगरलाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गर्नुभएको हो।

घोषणा कार्यक्रममा नगरप्रमुख थापाले पाँच वर्षमुनिका सबै बालबालिकाले शतप्रतिशत खोप प्राप्त गरेको बताउँदै बालबालिकाको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न नगरपालिका सफल भएको दाबी गर्नुभयो। उहाँले पूर्ण खोपको उपलब्धिलाई दीगो बनाउन आगामी दिनमा पनि आवश्यक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

नगरप्रमुख थापाका अनुसार स्वास्थ्य क्षेत्र नगरपालिकाको उच्च प्राथमिकतामा रहेको छ। नगर अस्पतालमार्फत नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गरिँदै आएको उल्लेख गर्दै उहाँले स्वास्थ्य, शिक्षा र बालमैत्री स्थानीय शासनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको बताउनुभयो। नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष रविन्द्र सापकोटाले जन्मदेखि २३ महिनासम्मका बालबालिकालाई घरदैलोमै पुगेर खोजी गर्दै खोप लगाउने अभियान सफल भएको बताउनुभयो।

आगामी वर्षहरूमा पनि कुनै बालबालिका खोपबाट वञ्चित नहोस् भन्ने उद्देश्यले खोप तथा खोज अभियानलाई निरन्तरता दिइने उहाँको भनाइ छ। जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले एक वर्षदेखि सञ्चालन गरिएको खोप तथा खोज अभियानमार्फत छुटेका आठ जना बालबालिकालाई समेत पूर्ण खोपको दायरामा ल्याउन सफल भएको जानकारी दिनुभयो।

नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बसन्त चौलागाईंका अनुसार घरधुरी सर्वेक्षणबाट प्राप्त तथ्यांकअनुसार नगरमा १५ महिनासम्मका एक हजार ७५० बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् भने ड्रपआउट संख्या एक मात्र रहेको छ। यस्तै, १६ देखि २३ महिनासम्मका एक हजार ३२९ बालबालिकाले पनि पूर्ण खोप पाएका छन्।

Facebook Comments Box