स्वास्थ्य अवस्था अस्थिर भएपछि गणेश नेपालीलाई तत्काल भारत नलैजाने निर्णय

काठमाडौं, २६ असार – चिकित्सकहरूको सुझावपछि सरकारले जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीलाई तत्काल भारत उपचारका लागि नलैजाने निर्णय गरेको छ। सरकारले प्रारम्भिक रूपमा नेपालीलाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लैजाने सम्पूर्ण तयारी पूरा गरेको थियो।

यसका लागि एयर एम्बुलेन्सको व्यवस्था गरिएको थियो भने गृहमन्त्री सुदन गुरुङको समन्वयमा बिरामीलाई विमानस्थल पुर्‍याउने तयारीसमेत गरिएको थियो। सरकारले उपचारको सम्पूर्ण खर्च पनि व्यहोर्ने घोषणा गरेको छ। तर वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा उपचाररत नेपालीको स्वास्थ्य अवस्था अस्थिर रहेकाले अहिलेको अवस्थामा स्थानान्तरण गर्दा ज्यानमा थप जोखिम हुन सक्ने चिकित्सकहरूको निष्कर्षपछि तत्काल भारत नलैजाने निर्णय गरिएको हो।

चिकित्सकहरूले स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र भारत लैजान उपयुक्त हुने सुझाव दिएका छन्। बिहीबार वीर अस्पतालमा भर्ना गरिएका नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ। हाल प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठसहित २१ सदस्यीय चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली उहाँको उपचारमा खटिएको छ। उहाँको रक्तचाप नियन्त्रणमा राख्दै स्वास्थ्य अवस्था स्थिर बनाउन आवश्यक औषधि र सघन उपचार निरन्तर जारी रहेको चिकित्सकहरूले बताएका छन्।

Facebook Comments Box