तेल ट्याङ्करमाथिको आक्रमणपछि अमेरिकाद्वारा इरानका दर्जनौँ सैन्य लक्ष्यमा हवाई हमला

वासिङ्टन डीसी – स्ट्रेट अफ होर्मुजमा तीनवटा तेल ट्याङ्करमाथि भएको आक्रमणपछि अमेरिकाले इरानका दर्जनौँ सैन्य लक्ष्यमा व्यापक हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम)का अनुसार मंगलबार ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण गरिएको हो। सेन्टकमले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)का स्ट्रेट अफ होर्मुज क्षेत्रस्थित ६० भन्दा बढी साना डुङ्गा, क्षेप्यास्त्र प्रक्षेपण स्थल तथा सैन्य कमाण्ड केन्द्रलाई निशाना बनाइएको जनाएको छ।

यद्यपि आक्रमण गरिएका स्थानहरूको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। इरानका उपविदेशमन्त्रीले अमेरिकी कारबाहीलाई गत महिना अमेरिका र इरानबीच भएको समझदारीको उल्लङ्घन भएको भन्दै तेहरानले आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न आवश्यक र निर्णायक कदम चाल्ने चेतावनी दिएका छन्।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमण केश्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा केन्द्रित थियो। आक्रमणका क्रममा विस्फोटका छर्राबाट केही सर्वसाधारण घाइते भएको पनि जनाइएको छ। तीनवटा तेल ट्याङ्करमाथिको आक्रमणको जिम्मेवारी भने इरानले औपचारिक रूपमा स्वीकार गरेको छैन।

अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष नागरिकद्वारा सञ्चालन गरिएका व्यावसायिक जहाजमाथिको आक्रमणलाई अस्वीकार्य भएको बताउँदै त्यसको जवाफस्वरूप सैन्य कारबाही गरिएको स्पष्ट पारेको छ। यसअघि अमेरिकी अर्थ मन्त्रालयले इरानमाथिको तेल प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनाउने व्यवस्था पनि रद्द गरेको थियो।

उक्त व्यवस्था अमेरिका–इरानबीच गत महिना भएको समझदारीको एक हिस्सा थियो। इरानको विदेश मन्त्रालयले भने अमेरिकी निर्णयलाई सम्झौताविपरीत भएको दाबी गर्दै वासिङ्टनको अविश्वसनीय र असंगत व्यवहारको उदाहरण भएको प्रतिक्रिया दिएको छ। तनाव बढिरहेका बेला पनि अमेरिकी अधिकारीहरूले इरानसँग कूटनीतिक संवाद जारी रहने बताएका छन्। एक अमेरिकी अधिकारीका अनुसार अन्तिम समझदारीका लागि वासिङ्टन अझै पनि सद्भावपूर्ण वार्ताको पक्षमा रहेको छ।

Facebook Comments Box