विश्वकप २०२६ : दुई गोलले पछि परेको अर्जेन्टिनाको अविस्मरणीय पुनरागमन, क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ, २४ असार – अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप–२०२६ अन्तर्गत अन्तिम १६ को रोमाञ्चक खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको ७८औँ मिनेटसम्म २–० ले पछि परेको अर्जेन्टिनाले अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै अविस्मरणीय जित दर्ता गरेको हो।

इजिप्टले १५औँ मिनेटमै यासिर इब्राहिमको गोलबाट अग्रता लिएको थियो। सन् २०२२ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका इब्राहिमको यो अन्तर्राष्ट्रिय करियरको दोस्रो गोल हो। इजिप्टका लागि २२औँ खेल खेलिरहेका उनले विश्वकपको नकआउट चरणमा अर्जेन्टिनाविरुद्ध गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।

३३ वर्ष १४७ दिनका इब्राहिम विश्वकपको नकआउट चरणमा गोल गर्ने इजिप्टका सबैभन्दा पाका खेलाडीसमेत बने। खेलको ६७औँ मिनेटमा मोस्ताफा जिकोले अर्को गोल थपेपछि अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको देखिएको थियो। तर त्यसपछि लियोनल मेसीको नेतृत्वमा अर्जेन्टिनाले शानदार पुनरागमन गर्‍यो।

७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनाको पुनरागमनको सुरुआत गरे। त्यसपछि ८३औँ मिनेटमा कप्तान लियोनल मेसीले बराबरी गोल गरे। निर्धारित समयपछि थपिएको इन्जुरी समयको तेस्रो मिनेट (९०+३) मा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को रोमाञ्चक जित दिलाए।

फर्नान्डेजको विजयी गोलपछि केहीबेर मैदानमा तनावको अवस्था सिर्जना भएको थियो। गोललाई लिएर विवाद हुँदा इजिप्टका टिम स्टाफ साफान एल्साघेरले रातो कार्ड पाए भने गोलरक्षक मोस्तफा शोबिर र हम्दी फाथी पहेँलो कार्डको भागीदार बने। यस खेलमा मेसीले पेनाल्टीको अवसर भने सदुपयोग गर्न सकेनन्। निर्धारित ९० मिनेटपछि खेलमा सात मिनेट इन्जुरी समय थपिएको थियो।

यो जितसँगै अर्जेन्टिना विश्वकपको अन्तिम आठमा पुगेको छ। समाचार तयार पार्दासम्म फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्यान्ड र अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन्। अन्तिम एक स्थानका लागि स्विट्जरल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ।क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्यान्डसँग तथा अर्जेन्टिनाले स्विट्जरल्यान्ड र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

Facebook Comments Box