विषादीरहित तरकारी उत्पादनतर्फ आकर्षित हुँदै बुलिङ्टारका किसान

नवलपरासी, २३ असार – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङ्टार गाउँपालिकाका किसान विषादीरहित तथा प्राङ्गारिक तरकारी उत्पादनतर्फ आकर्षित भएका छन्। रासायनिक विषादीका स्वास्थ्य तथा वातावरणीय असरबारे चेतना बढेसँगै यहाँका कृषक स्थानीय स्रोतसाधन प्रयोग गरेर पर्यावरणमैत्री खेती गर्न थालेका हुन्।

बुलिङ्टार गाउँपालिका–१ का कृषक पहलसिं सारु मगरले असुरो, खुर्सानी, लसुन, अदुवा, निमका पात, गाईको पिसाबलगायत स्थानीय सामग्री प्रयोग गरी विभिन्न प्रकारका झोल मल तयार गरेर खेतीमा प्रयोग गर्दै आएको बताउनुभयो। उहाँका अनुसार झोल मल–१ माटोको उर्वराशक्ति सुधार गर्न, झोल मल–२ बालीलाई रोग–कीराबाट जोगाउन र झोल मल–३ कीरा भगाउन प्रयोग गरिन्छ। स्थानीय स्रोतसाधनबाटै तयार हुने यस्ता जैविक मलले उत्पादन सुरक्षित र स्वस्थ बनाउन सहयोग पुगेको उहाँको अनुभव छ।

किसानलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्न गाउँपालिकाले विभिन्न सङ्घसंस्थासँग सहकार्य गरी अभिमुखीकरण तथा तालिम सञ्चालन गरेको छ। गाउँपालिकाको कृषि शाखाका प्राविधिक सहायक विष्णु ढकालका अनुसार केही वर्षअघिसम्म किसानले अत्यधिक रासायनिक मल र विषादी प्रयोग गर्ने गरे पनि अहिले त्यसमा उल्लेख्य परिवर्तन आएको छ। विषादीको असरबारे जानकारी पाएपछि कृषकहरू प्राङ्गारिक खेतीतर्फ आकर्षित भएको उहाँले बताउनुभयो।

पालिकाले तालिमका साथै स्थानीय जातका तरकारीका बीउ उपलब्ध गराउने तथा प्राविधिक सहयोगमार्फत प्राङ्गारिक खेती विस्तार गर्दै आएको उहाँको भनाइ छ। बुलिङ्टारमा उत्पादन हुने काँक्रो, टमाटर, भिण्डी, करेला, बोडी, फर्सी, काउली, बन्दालगायत तरकारी स्थानीय बजारसँगै कावासोती, गैँडाकोट र नारायणघाटसम्म बिक्री हुने गरेका छन्।

स्थानीय कृषक खुमसरा आले मगरका अनुसार विषादीरहित तरकारीको बजारमा माग उच्च रहेकाले बिक्रीमा कुनै समस्या छैन। उत्पादन कम हुँदा स्थानीय होटलले खरिद गर्ने र उत्पादन बढी हुँदा कावासोती तथा नारायणघाटबाट व्यापारी नै गाउँमा आएर खरिद गर्ने गरेको उहाँले बताउनुभयो। तरकारी बिक्रीबाट प्राप्त आम्दानीले घरखर्च, बालबालिकाको शिक्षादेखि केही रकम बचत गर्नसमेत सहयोग पुगेको उहाँको भनाइ छ। नमुना प्लटमार्फत खेती गर्दै आएका उहाँले भक्तपुरे काँक्रो घरबाटै प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुने गरेको जानकारी दिनुभयो।

प्राङ्गारिक खेती सुरु गरेपछि रासायनिक मलको अभावले समस्या नहुने, विषादीजन्य स्वास्थ्य जोखिम पनि कम भएको कृषकहरूको अनुभव छ। स्थानीय कृषक टकबहादुर खण्डलुकले पहिले हाइब्रिड खेती गर्ने गरे पनि अहिले स्थानीय जातका तरकारी तथा अन्नबाली उत्पादनमा जोड दिएको बताउनुभयो। आफूहरूले उत्पादन गरेको विषादीरहित तरकारी नै उपभोग गर्न थालेपछि बजारबाट तरकारी किन्ने आवश्यकता घटेको र स्वास्थ्यमा पनि सकारात्मक प्रभाव परेको उहाँले उल्लेख गर्नुभयो।

केही वर्षअघिसम्म विकट पहाडी क्षेत्र मानिने बुलिङ्टार गाउँपालिकामा कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि यहाँ उत्पादन भएका कृषिजन्य वस्तु सहज रूपमा बजारसम्म पुग्न थालेका छन्। कृषकका अनुसार अहिले यहाँबाट सङ्कलन गरिएका कृषि उपज करिब एक घण्टाभित्र नारायणघाटलगायत प्रमुख बजार केन्द्रमा पुर्‍याउन सकिने भएकाले बजार पहुँचसमेत विस्तार भएको छ।

Facebook Comments Box