ब्राजिल विश्वकपबाट बाहिरिएसँगै नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा
काठमाडौं, २२ असारः ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। फिफा विश्वकप–२०२६ को राउन्ड अफ १६ मा नर्वेसँग २–१ गोलअन्तरले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेयमारले राष्ट्रिय टोलीसँगको १६ वर्ष लामो यात्राको अन्त्य गरेका हुन्।
अमेरिकाको न्युयोर्क–न्युजर्सी स्टेडियममा सम्पन्न खेलपछि भावुक बनेका नेयमारले आफ्नो अन्तर्राष्ट्रिय करिअर समाप्त भएको घोषणा गरे। “मैले धेरै प्रयास गरें। मेरो यात्रा यही स्टेडियमबाट सुरु भएको थियो र यहीँ अन्त्य भयो। अब सबै सकियो,” उनले भने। उक्त खेलमा नर्वेका एर्लिङ हालान्डले दुई गोल गर्दै आफ्नो टोलीलाई ऐतिहासिक जित दिलाएका थिए। ब्राजिलका लागि नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
चोटबाट भर्खरै मैदानमा फर्किएका नेयमारले यस विश्वकपमा अपेक्षाअनुरूप प्रदर्शन गर्न सकेनन्। चोटका कारण उनले ब्राजिलका सुरुआती खेल गुमाएका थिए। त्यसपछि टोलीमा फर्किए पनि अधिकांश खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिएका थिए। उनले स्कटल्यान्ड र नर्वेविरुद्ध पनि बेन्चबाट मैदान प्रवेश गरेका थिए। नर्वेविरुद्ध इन्जुरी समयमा गरेको पेनाल्टी गोल नै ब्राजिलका लागि उनको अन्तिम अन्तर्राष्ट्रिय गोल बनेको छ।
नेयमारले सन् २०१० मा ब्राजिलको सिनियर टोलीबाट डेब्यु गरेका थिए। १६ वर्षको अन्तर्राष्ट्रिय करिअरमा उनले १२९ खेल खेल्दै ८० गोल गरेका छन्। यससँगै उनी ब्राजिलको पुरुष राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता बने। उनले चार संस्करणको फिफा विश्वकप खेले पनि ब्राजिललाई विश्वकप उपाधि दिलाउने सपना भने पूरा गर्न सकेनन्।
नेयमारले आफ्नो पहिलो विश्वकप खेल पनि न्युयोर्क–न्युजर्सी स्टेडियममै खेलेका थिए। साथै, उनले दुई ओलम्पिकमा ब्राजिलको प्रतिनिधित्व गरेका थिए। सन् २०१२ मा रजत पदक जितेका उनले सन् २०१६ मा टोलीको कप्तानी गर्दै ब्राजिललाई ऐतिहासिक स्वर्ण पदक दिलाएका थिए।

