क्यानडामाथि सहज जित निकाल्दै मोरक्को विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौं, २१ असार – मोरक्कोले सहआयोजक क्यानडालाई ३–० गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप–२०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको ह्युस्टनमा सम्पन्न राउन्ड अफ १६ अन्तर्गतको खेलमा मोरक्कोका लागि अज्जेदिन ओउनाहीले दुई तथा सुफियान रहिमीले एक गोल गरे।

गोलरहित पहिलो हाफपछि मोरक्कोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्यो। खेलको ५०औँ मिनेटमा कप्तान अच्राफ हाकिमीको पासमा ओउनाहीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि उनले ८२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाए। दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा रहिमीले अर्को गोल थपेपछि मोरक्कोले ३–० को सहज जित दर्ता गर्यो।

खेलमा क्यानडाले मोरक्कोभन्दा बढी प्रहार गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। बल नियन्त्रणमा भने मोरक्कोकै पकड रह्यो। विश्वकपमा सातौँ सहभागिता जनाएको मोरक्को दोस्रो पटक क्वार्टरफाइनलमा पुगेको हो। यसअघि उसले सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। साथै, दुई पटक विश्वकपको क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बन्ने कीर्तिमान पनि मोरक्कोले बनाएको छ।

यता, पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको सहआयोजक क्यानडाको यात्रा भने अन्तिम १६ मै टुंगिएको छ। क्यानडा यस संस्करणबाट बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ। अन्य सहआयोजक अमेरिका र मेक्सिको भने अझै प्रतियोगितामा कायम छन्।अब मोरक्कोले सेमिफाइनल प्रवेशका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

Facebook Comments Box