आठ दिनपछि भग्नावशेषबाट जीवितै उद्धार भए भेनेजुएलाका एक व्यक्ति

काठमाडौं, १९ असार – भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पपछि भत्किएको भवनको भग्नावशेषमा आठ दिनसम्म फसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार १४० टनभन्दा बढी भग्नावशेषमुनि फसेका हर्नान गिललाई उद्धार टोलीले उनको अवस्थिति पत्ता लगाएको १०० घण्टाभन्दा बढी समयपछि सुरक्षित रूपमा बाहिर निकालेको हो।

गत जुन २४ मा भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पका कारण हालसम्म करिब दुई हजार ३०० जनाको मृत्यु पुष्टि भएको छ भने हजारौं मानिस अझै बेपत्ता रहेको जनाइएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ। गिलको उद्धारमा संलग्न चिलीका एक अग्निनियन्त्रकले यसलाई आफ्नो अनुभवकै सबैभन्दा जटिल प्राविधिक उद्धार अभियानमध्ये एक भएको बताएका छन्।

कोस्टारिकाको रेडक्रसमा कार्यरत प्यारामेडिक एलन माड्रिगलका अनुसार आइतबार पहिलो पटक भग्नावशेषभित्रबाट गिलको कमजोर आवाज सुनिएको थियो। त्यसपछि विभिन्न देशका उद्धार टोलीले समन्वयात्मक रूपमा उद्धार अभियानलाई तीव्र बनाएका थिए। प्रारम्भिक जानकारीअनुसार भूकम्पका बेला गिल कातिया ला मारस्थित गालेरियास प्लाया ग्रान्डे सपिङ मलसँगै रहेको पार्किङ क्षेत्रको बेसमेन्टमा रहेको सुरक्षा कक्षमा ड्युटीमा थिए।

उक्त कङ्क्रिट संरचनाले सुरक्षात्मक आवरणको काम गरेकाले उनी भग्नावशेषमा पुरिए पनि बाँच्न सफल भएको प्रारम्भिक अनुमान गरिएको छ। उद्धारका क्रममा सानो पहुँच मार्ग तयार गरी गिलसम्म पानी र आवश्यक चिकित्सकीय सहायता पुर्‍याइएको थियो। उद्धार टोलीले उनको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गर्दै सुरक्षित रूपमा बाहिर निकालेको जनाएको छ।

गिलसम्म पुग्ने सुरुङका केही भाग पटक–पटक भत्किँदा उद्धार अभियान थप चुनौतीपूर्ण बनेको थियो। पछि सानो क्यामेरामार्फत उद्धारकर्मीले उनीसँग प्रत्यक्ष सम्पर्क स्थापित गरेका थिए। भिडियोमा उनी अनुहारमा सुरक्षात्मक मास्क लगाएको अवस्थामा देखिएका थिए, जुन धुलोबाट जोगाउन उद्धार टोलीले उपलब्ध गराएको थियो।

भेनेजुएला, चिली, कोस्टारिका, एल साल्भाडोर, मेक्सिको, पोर्चुगल र संयुक्त राज्य अमेरिकाका उद्धार टोली संयुक्त रूपमा उद्धार अभियानमा सहभागी भएका थिए। मेक्सिको रेडक्रसका उद्धारकर्मी मार्को एन्टोनियो फ्रान्कोले हर्नान गिललाई कठिन परिस्थितिमा पनि आत्मविश्वास कायम राख्ने र सकारात्मक सोच भएका व्यक्तिका रूपमा वर्णन गरेका छन्।

Facebook Comments Box