बर्डफ्लु संक्रमणपछि काभ्रेमा ४० हजारभन्दा बढी हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक, १६ असार – बर्डफ्लु संक्रमण फैलिन थालेपछि काभ्रेपलाञ्चोकमा हालसम्म ४० हजारभन्दा बढी हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको छ। जिल्ला पशु सेवा कार्यालय धुलिखेलका अनुसार पछिल्ला केही सातादेखि व्यावसायिक पोल्ट्री फार्ममा बर्डफ्लुको संक्रमण देखिएपछि ४० हजार ७२९ वटा हाँस र कुखुरा नष्ट गरिएको हो।

कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरका अनुसार बनेपा नगरपालिका–६ र १३ तथा पनौती नगरपालिका–७, ८ र ९ का केही पोल्ट्री फार्ममा संक्रमण पुष्टि भएपछि नियन्त्रणका लागि प्रभावित पक्षीहरू नष्ट गरिएको हो। प्रारम्भिक अध्ययनअनुसार मरेका हाँस तथा कुखुरालाई खोला, झाडी र खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चरामार्फत संक्रमण थप फैलिएको हुन सक्ने देखिएको छ।

संक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन र कुखुरा ओसारपसारमा कडाइ गरिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ। डा. ठाकुरले प्रयोगशाला परीक्षणको नतिजा ढिलो आउँदा प्रदेश र स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा संक्रमण बढेको उल्लेख गर्नुभयो।

उहाँले व्यावसायिक पोल्ट्री फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गर्दै खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, प्रवेश गर्नै परे सुरक्षाका उपाय अपनाउन, खोर तथा उपकरण नियमित रूपमा सफा राख्न र कुखुरा ओसारपसार गर्दा सरसफाइका सबै मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने बताउनुभयो।

यसैबीच, जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिना तथा अवैध रूपमा कुखुरा ओसारपसार हुन नदिन निगरानी र नियन्त्रण थप कडा बनाइएको छ। यसअघि गत चैतमा देशका विभिन्न स्थानमा बर्डफ्लु संक्रमण देखिएपछि काभ्रे र सिन्धुपाल्चोकमा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउने निर्णय गरिएको थियो।

Facebook Comments Box