जापानलाई हराउँदै ब्राजिल अन्तिम १६ मा
काठमाडौं, १६ असार – गाब्रिएल मार्टिनेलीले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि ब्राजिलले जापानलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न राउण्ड अफ ३२ को खेलमा दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मार्टिनेलीले इन्जुरी समयको पाँचौं मिनेटमा विजयी गोल गर्दै पाँच पटकको विश्वविजेता ब्राजिललाई अर्को चरणमा पुर्याए।
पहिलो हाफमा एक गोलले पछि परेको ब्राजिलले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो। अब ब्राजिलले अन्तिम १६ मा आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। जापानले खेलको २९औं मिनेटमा अग्रता लिएको थियो। काइसु सानोले ब्राजिलियन खेलाडीको गलत पास नियन्त्रणमा लिएपछि एक्लै बल अघि बढाउँदै उत्कृष्ट लामो प्रहारमार्फत गोल गरेका थिए। उनको प्रहार रोक्ने अवसर ब्राजिलका गोलरक्षक एलिसन बेकरले पाएनन्।
जर्मन क्लब माइन्ज ०५ का मिडफिल्डर सानोको यो जापानका लागि पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो। दोस्रो हाफको सुरुवातदेखि नै ब्राजिलले आक्रामक खेल प्रस्तुत गर्यो। लगातार दबाब सिर्जना गरे पनि जापानका गोलरक्षक जिओन सुजुकीले उत्कृष्ट प्रदर्शन गर्दै केही निश्चित गोलका अवसर बचाएका थिए।
अन्ततः ५६औं मिनेटमा कासेमिरोले गाब्रिएल मागाल्हाएसको क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए। ३४ वर्ष १२६ दिनको उमेरमा विश्वकपमा गोल गर्दै कासेमिरो ब्राजिलका लागि विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा पाका खेलाडी बने। यसअघि बेबेटोले सन् १९९८ मा ३४ वर्ष १३७ दिनको उमेरमा गोल गरेका थिए।
त्यसअघि ब्राजिलले लगातार अवसर सिर्जना गरेको थियो। ५२औं मिनेटमा ब्रुनो गिमारेसको हेडर सुजुकीले उत्कृष्ट बचाउ गरे भने ५४औं मिनेटमा कासेमिरोको प्रहार जापानी डिफेन्डरले गोललाइनबाट फर्काएका थिए। त्यसलगत्तै भिनिसियस जुनियरको प्रहार पोस्टमा लागेको थियो। खेल अतिरिक्त समयतर्फ धकेलिने संकेत देखिँदै गर्दा इन्जुरी समयको पाँचौं मिनेटमा मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाए।
जापानका गोलरक्षक सुजुकीले चार उत्कृष्ट बचाउ गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। खेलभर ब्राजिलले १९ प्रहार गर्दा सात वटा लक्ष्यमा राखेको थियो भने जापानले सीमित अवसर सिर्जना गरेको थियो। पहिलोपटक विश्वकपको नकआउट चरणमा जित निकाल्ने लक्ष्य बोकेको जापानले फेरि एकपटक अग्रता जोगाउन नसक्दा निराश हुनुपर्यो।
यसअघि पनि जापानले विश्वकपको नकआउट चरणमा अग्रता लिएर हार बेहोरेको इतिहास छ। सन् २०१८ मा बेल्जियमविरुद्ध २–० को अग्रता लिए पनि ३–२ ले पराजित भएको जापान सन् २०२२ मा क्रोएसियाविरुद्ध १–० ले अघि रहेर अन्ततः पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

