बाहुनडाँगीमा हात्तीको आतंक, रोपाइँ छाडेर ज्यान जोगाउन बाध्य किसान
झापा, १५ असार – धान रोपाइँको मुख्य सिजनमा झापाको मेचीनगर–४ बाहुनडाँगीका किसान भने खेतमा काम गर्नुभन्दा जङ्गली हात्तीबाट ज्यान जोगाउने चिन्तामा छन्। भारततर्फबाट छावासहित आएका हात्तीका बथान गाउँमै बस्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। स्थानीयका अनुसार दैनिक ४० देखि ५० वटासम्म हात्तीको बथान बाहुनडाँगी प्रवेश गर्ने गरेको छ। कतिपय बेला हात्ती दिनभर चियाबारी र झाडीमा बस्ने गरेका छन् भने छावासहितका हात्ती बढी आक्रामक हुने भएकाले दुर्घटनाको जोखिम बढेको छ।
हात्तीको त्रासका कारण अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउनसमेत डराउन थालेका छन्। यता किसानहरू धान रोपाइँ छाडेर दिनभर हात्ती धपाउन बाध्य भएका छन्। स्थानीय युवा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले साइरन बजाउने तथा अन्य उपाय अपनाएर हात्तीलाई बस्तीबाट हटाउने प्रयास गरिरहेका छन्। तर ती प्रयास अस्थायी मात्रै हुने गरेको स्थानीयको गुनासो छ।
मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले स्थानीय सरकार र सुरक्षा निकाय नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताउँदै यो समस्या स्थानीय तहको प्रयासले मात्र समाधान नहुने बताए। उनका अनुसार दीर्घकालीन समाधानका लागि संघीय सरकारको सक्रिय पहल आवश्यक छ। लामो समयदेखि हात्तीको समस्या झेलिरहेका स्थानीयवासी नीलकण्ठ तिवारीले प्रधानमन्त्रीसम्म ज्ञापनपत्र पठाए पनि प्रभावकारी सुनुवाइ नभएको गुनासो गरे।
बाहुनडाँगी क्षेत्र भारतको आसाम र पश्चिम बंगाल हुँदै नेपालको कोशीटप्पुसम्म फैलिएको परम्परागत हात्ती करिडोरमा पर्छ। वन विनाश र मानव बस्ती विस्तारका कारण हात्तीको प्राकृतिक मार्ग अवरुद्ध भएपछि उनीहरू गाउँ पस्न थालेका हुन्। सीमाक्षेत्रमा निर्माण गरिएको विद्युतीय तारबार पनि धेरै ठाउँमा जीर्ण भइसकेको छ। हात्तीहरूले रुखका हाँगा प्रयोग गरेर तारबार पार गर्ने वा पोल ढालेर गाउँ पस्ने गरेको स्थानीय बताउँछन्।
वन क्षेत्रमा पर्याप्त आहारा अभाव र गाउँमा रहेको अन्नबालीले पनि हात्तीलाई बस्तीतर्फ आकर्षित गरिरहेको छ। स्थानीयले नेपाल–भारतबीच सीमापार समन्वयमार्फत हात्ती करिडोरको व्यवस्थापन, विद्युतीय तारबारको मर्मत, प्रभावित क्षेत्रमा सुरक्षा सुदृढीकरण तथा किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। उनीहरूको भनाइमा यी उपाय तत्काल लागू नगरिए बाहुनडाँगीमा मानवीय तथा आर्थिक क्षति थप बढ्न सक्ने जोखिम छ।

