कंगो डीआरको ऐतिहासिक उपलब्धि, उज्बेकिस्तानमाथि ३–१ को कमब्याक जित
काठमाडौं, १४ असार – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कंगो डीआरले उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। खेलको सुरुवातमा पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै कंगोले अन्तिम समयमा सशक्त प्रदर्शन गरेको हो। उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले १०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर लामो समयसम्म खेलमा थप गोल भएन।
दोस्रो हाफमा कंगोले खेलमा फर्किने अवसर पायो। ६८औं मिनेटमा प्राप्त पेनाल्टीलाई योवान विसाले सफलतापूर्वक गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए। त्यसको १० मिनेटपछि ७८औं मिनेटमा फिस्टन मायेलेले अर्को गोल थप्दै कंगोलाई २–१ को अग्रता दिलाए। इन्जुरी समयतर्फ पुनः योवान विसाले व्यक्तिगत दोस्रो गोल गर्दै कंगोको ३–१ को जित सुनिश्चित गरे। यो जितसँगै कंगो डीआरले समूह ‘के’ मा ४ अंक जोड्दै तेस्रो स्थान हासिल गर्यो। उत्कृष्ट तेस्रो स्थानमा परेकाले कंगो नकआउट चरणमा प्रवेश गर्न सफल भएको हो।
५२ वर्षपछि विश्वकपमा फर्किएको कंगोले पहिलो पटकमै नकआउट चरणमा स्थान बनाउँदै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस समूहको अर्को खेलमा कोलम्बिया र पोर्चुगलबीच गोलरहित बराबरी भएपछि कोलम्बिया ७ अंकसहित समूह विजेता र पोर्चुगल ५ अंकसहित उपविजेता बनेका छन्।

