दक्षिण ललितपुरमा सञ्चार पहुँच कमजोर, विपद्को बेला जोखिम बढ्ने चिन्ता

ललितपुर, १२ असार – राजधानीसँगै जोडिएको दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका अधिकांश बस्ती अझै पनि भरपर्दो सञ्चार सेवाबाट वञ्चित छन्। मोबाइल नेटवर्क र इन्टरनेट सेवाको कमजोर पहुँचका कारण स्थानीयवासीले दैनिक जीवनदेखि आकस्मिक अवस्थासम्म विभिन्न समस्या झेल्दै आएका छन्।

गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीका अनुसार सञ्चार सेवा विस्तारका लागि नेपाल दूरसञ्चार प्राधिकरण तथा सम्बन्धित निकायसँग पटक–पटक पहल गरिए पनि अपेक्षित सुनुवाइ हुन सकेको छैन। उहाँले गाउँपालिकाका अधिकांश क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताउनुभयो।

महाङ्काल गाउँपालिकामा साविकका बुखेल, मानिखेल, गोटिखेल, कालेश्वर, चन्दनपुर र ठूलादुर्लुङ गाविस समेटेर छ वटा वडा रहेका छन्। ती वडाका अधिकांश बस्तीमा मोबाइल नेटवर्क कमजोर छ। कतिपय स्थानमा घरभित्र बसेर फोन गर्न वा इन्टरनेट चलाउन नसकिने अवस्था रहेको छ भने नेटवर्क खोज्न डाँडाकाँडा पुग्नुपर्ने बाध्यता अझै कायम छ।

अध्यक्ष केसीका अनुसार स्थानीयवासीले वर्षौँदेखि सञ्चार समस्याबारे गुनासो गर्दै आएका छन्। कतिपय गाउँमा रातिको समयमा समेत घरबाहिर निस्केर नेटवर्क खोज्दै फोन गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।

गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेले गाउँपालिकाको केन्द्र गोटिखेलस्थित कार्यालय परिसरमै सञ्चार सेवाको समस्या रहेको जानकारी दिनुभयो। फाइबर इन्टरनेट जडान तथा सबै वडामा गुणस्तरीय सञ्चार सेवा विस्तारका लागि विभिन्न निकायमा पटक–पटक अनुरोध गरिए पनि हालसम्म समस्या समाधान हुन नसकेको उहाँको भनाइ छ।

उहाँका अनुसार सञ्चार सेवाको अभावले विशेषगरी विपद् व्यवस्थापन र स्वास्थ्य सेवामा गम्भीर असर परेको छ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकाले समयमै सूचना आदान–प्रदान हुन नसक्दा स्थानीयवासी थप जोखिममा पर्ने गरेका छन्। बिरामीको अवस्था गम्भीर हुँदा एम्बुलेन्स वा सम्बन्धित निकायसँग तत्काल सम्पर्क गर्नसमेत कठिन हुने गरेको छ।

कमजोर सञ्चार सेवाले गाउँपालिकाको प्रशासनिक कामकाजमा पनि असर पारेको छ। विद्युत् आपूर्ति अवरुद्ध हुँदा आवश्यक कागजात तथा सिफारिस सम्बन्धित निकायमा पठाउन समस्या हुने गरेको जनप्रतिनिधिहरूले बताएका छन्। डिजिटल प्रविधिमा आधारित सरकारी सेवा विस्तार भइरहेका बेला आधारभूत सञ्चार पूर्वाधारको अभावले सेवा प्रवाहमा चुनौती थपिएको छ।

प्राकृतिक, धार्मिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण महाङ्काल गाउँपालिकाको मुख्य आर्थिक आधार कृषि हो भने वैदेशिक रोजगारी पनि आम्दानीको प्रमुख स्रोत बनेको छ। स्थानीयवासीले विकासका सम्भावनालाई साकार बनाउन सञ्चार पूर्वाधार विस्तार अपरिहार्य रहेको बताएका छन्। स्थानीय जनप्रतिनिधिहरूले दक्षिण ललितपुरका ग्रामीण क्षेत्रमा मोबाइल टावर, फाइबर नेटवर्क तथा अन्य सञ्चार पूर्वाधारको शीघ्र विस्तार गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

Facebook Comments Box