इरान–अमेरिका वार्तापछि तेल प्रतिबन्धमा अस्थायी छुट, १२ अर्ब डलरको कोष फुकुवा
काठमाडौं, असार ९ – स्विट्जरल्यान्डमा सम्पन्न इरान र अमेरिकाबीचको उच्चस्तरीय वार्तापछि अमेरिकाले इरानी तेल बिक्रीमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाउने तथा रोक्का गरिएको १२ अर्ब अमेरिकी डलर बराबरको कोष फुकुवा गर्ने निर्णय गरेको छ। यस कदमलाई दुई देशबीच लामो समयदेखि जारी तनाव कम गर्ने दिशामा महत्वपूर्ण प्रगतिका रूपमा हेरिएको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी अर्थ मन्त्रालयले इरानी तेल उत्पादन, आपूर्ति र बिक्रीका लागि ६० दिने अस्थायी अनुमति (लाइसेन्स) जारी गरेको जानकारी दिएका छन्। उक्त निर्णयअनुसार आगामी अगस्ट २१ सम्म इरानले आफ्नो तेल तथा पेट्रोलियमजन्य उत्पादन अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न पाउनेछ। यस अवधिमा अमेरिकी कम्पनीहरूले समेत इरानी तेल खरिद गर्न सक्ने र भुक्तानी अमेरिकी डलरमै गर्न सकिने व्यवस्था गरिएको छ।
आवश्यक परे यो अनुमति अवधि थप गर्न सकिने जनाइएको छ। स्विट्जरल्यान्डमा भएको वार्तापछि अमेरिकाले उक्त कदम चालेको हो। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तामा उल्लेखनीय प्रगति भएको बताएका छन्। वार्ताका क्रममा इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई पुनः आफ्नो आणविक केन्द्रहरूको निरीक्षण गर्न अनुमति दिने प्रतिबद्धता जनाएको छ।
साथै, विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक मानिने स्ट्रेट अफ होर्मुजबाट जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने वाचा पनि गरेको छ। क्षेत्रीय तनाव र सुरक्षा चुनौतीका कारण पछिल्ला महिनाहरूमा होर्मुज जलडमरूमध्यबाट तेल ट्यांकरहरूको आवागमन प्रभावित भएको थियो। तर नयाँ सहमतिपछि जहाजहरूको आवागमन पुनः सामान्य बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्ट्रेट अफ होर्मुज विश्वमा निर्यात हुने करिब २० प्रतिशत कच्चा तेल ओसारपसार हुने प्रमुख मार्ग हो। त्यसैले यस क्षेत्रमा स्थायित्व कायम हुँदा विश्वव्यापी ऊर्जा बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। सहमतिअनुसार आगामी ६० दिनसम्म जहाजहरूले अतिरिक्त शुल्कबिना होर्मुज मार्ग प्रयोग गर्न पाउनेछन्। त्यसपछि इरान र खाडी क्षेत्रका राष्ट्रहरूले दीर्घकालीन व्यवस्थापन तथा सम्भावित शुल्क संरचनाबारे थप छलफल गर्नेछन्।
यसैबीच, इरानी वार्ताकारहरूले अमेरिकासँग रोक्का गरिएको १२ अर्ब अमेरिकी डलर बराबरको कोष फुकुवा गर्ने सहमति भएको बताएका छन्। अलजजिराका अनुसार १८ घण्टा लामो वार्तापछि इरानले अन्तर्राष्ट्रिय निरीक्षणलाई अनुमति दिने प्रतिबद्धता जनाएसँगै अमेरिकाले उक्त निर्णय गरेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फुकुवा गरिएको रकम अमेरिकी कृषि उत्पादन खरिदमा प्रयोग हुन सक्ने बताएका छन्। तर इरानको केन्द्रीय बैंकले उक्त दाबी अस्वीकार गर्दै तेहरान कुनै पनि अमेरिकी कृषि सामग्री खरिद गर्न बाध्य नभएको स्पष्ट पारेको छ। वार्तापछि भएका यी निर्णयले इरान–अमेरिका सम्बन्धमा नयाँ सम्भावनाको संकेत देखाएको विश्लेषण गरिएको छ।

