सेनेगलमाथि रोमाञ्चक जित, नर्वे २८ वर्षपछि विश्वकपको नकआउट चरणमा

काठमाडौँ, असार ९ – न्यूयोर्क–न्यू जर्सी स्टेडियममा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ गोलअन्तरले पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेले एक खेल बाँकी रहँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो। नर्वेको जितमा एर्लिङ हाल्यान्डले दुई गोल तथा मार्कस होल्मग्रेन पेडरसनले एक गोल गरे। सेनेगलका इस्माइला सारले दुई गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

खेलको ४३औँ मिनेटमा पेडरसनले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। त्यसपछि ४८औँ मिनेटमा हाल्यान्डले गोल थप्दै टोलीलाई २–० को अग्रता दिलाए। ५३औँ मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई खेलमा फर्काउने प्रयास गरे। तर ५८औँ मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको अग्रता थप बलियो बनाए।

दोस्रो हाफको इन्जुरी समयमा इस्माइला सारले व्यक्तिगत दोस्रो गोल गरे पनि सेनेगल पुनरागमन गर्न सफल भएन। सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलेको नर्वेले उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा स्थान बनाएको हो। जितसँगै नर्वे समूह ‘आई’ मा ६ अंकसहित दोस्रो स्थानमा छ। समान ६ अंक भएको फ्रान्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा रहेको छ। नर्वे र फ्रान्सले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन् भने लगातार दुई खेलमा पराजित भएका सेनेगल र इराक अंकविहीन छन्।

Facebook Comments Box