सङ्खुवासभामा पहिरोले तीन परिवार विस्थापित, खेतीयोग्य जमिनमा समेत क्षति

सङ्खुवासभा, असार ८ – अविरल वर्षापछि आएको पहिरोका कारण सङ्खुवासभाका दुई स्थानीय तहमा तीन परिवार विस्थापित भएका छन्। पहिरोले घर तथा खेतीयोग्य जमिनमा क्षति पुर्‍याएपछि प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार शनिबार आएको पहिरोका कारण सभापोखरी गाउँपालिका–१ धुपुका धनबहादुर विश्वकर्मा र शान्तिराम पोखरेलका परिवार विस्थापित भएका हुन्।

दुवै परिवारमा चार–चार जना सदस्य रहेका छन्। पहिरोले विश्वकर्माको दुईतले घरको पछाडिको भाग भत्काएको छ भने शान्तिराम पोखरेलको घरसमेत उच्च जोखिममा परेको छ। थप पहिरो खस्न सक्ने सम्भावना रहेकाले स्थानीय तहसँगको समन्वयमा दुवै परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

यस्तै, खाँदबारी नगरपालिका–६ खानीडाँडाका यारबहादुर तामाङको ६ सदस्यीय परिवार पनि पहिरोको जोखिमका कारण विस्थापित भएको छ। प्रभावित परिवार हाल छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्। पहिरोले सभापोखरी–१ धुपु क्षेत्रका खेतीयोग्य जमिनमा समेत क्षति पुर्‍याएको छ। स्थानीय राजन राई, कर्ण राई तथा अम्बर राईको धान रोपाइँको तयारीमा रहेको खेत पहिरोले कटान तथा पुरेको प्रहरीले जनाएको छ।

धुपु प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले प्रभावित तथा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य जारी राखेको छ। स्थानीय प्रशासनले वर्षायाममा पहिरोको जोखिम बढेकाले सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Facebook Comments Box