पञ्चकन्या मन्दिरमा विशाल गौमाता शिलामूर्ति स्थापना
भोजपुर, ७ असार – भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङ्गेस्थित निर्माणाधीन पञ्चकन्या मन्दिर परिसरमा विशाल गौमाता शिलामूर्तिको अनावरण गरिएको छ। करिब चार हजार किलोग्राम तौलको एउटै शिलाबाट निर्माण गरिएको उक्त प्रतिमा नेपालकै ठूलो गौमाता शिलामूर्ति भएको दाबी गरिएको छ। धार्मिक विश्वासअनुसार पाँचथुने गाईले पञ्चकन्या देवीलाई दूध चढाउने किंवदन्तीलाई आधार बनाएर प्रतिमा निर्माण गरिएको हो।
मन्दिर परिसरमा स्थापना गरिएको उक्त मूर्तिले धार्मिक महत्वसँगै पर्यटकीय आकर्षणसमेत थप्ने अपेक्षा गरिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार करिब १२ लाख रुपैयाँ लागतमा प्रतिमा निर्माण गरिएको हो। पञ्चकन्या मन्दिर निर्माणका लागि आयोजित विराट महायज्ञबाट सङ्कलित रकममार्फत मन्दिर निर्माण समितिले शिलामूर्ति स्थापना गरेको उहाँले जानकारी दिनुभयो।
दीर्घकालसम्म सुरक्षित रहने उद्देश्यले गुणस्तरीय र बलियो शिलाको प्रयोग गरी प्रतिमा निर्माण गरिएको जनाइएको छ। साथै गाउँपालिकाको करिब तीन लाख रुपैयाँ लागतमा शिव, गणेश, नाग तथा पञ्चकन्यासम्बन्धी अन्य शिलामूर्तिहरू पनि मन्दिर परिसरमा स्थापना गरिएको छ। पौवादुङमा गाउँपालिकाले पञ्चकन्या क्षेत्रलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न पूर्वाधार निर्माण तथा संरक्षणका काम अघि बढाएको जनाएको छ।
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार यस क्षेत्रको विकासले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। गाउँपालिका अध्यक्ष किरण राईले पञ्चकन्या मन्दिरलाई ‘पूर्वको पशुपति’का रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य रहेको बताउनुभयो। उहाँले स्थानीय धार्मिक मान्यता र ऐतिहासिक किंवदन्तीलाई संरक्षण गर्दै क्षेत्रको समग्र विकासमा जोड दिइएको उल्लेख गर्नुभयो।
स्थानीयवासी निरप्रसाद फुँयालका अनुसार पञ्चकन्या देवीप्रति गहिरो आस्था रहेको छ। यहाँ पूजा–अर्चना तथा दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको उहाँको भनाइ छ। मन्दिर परिसरमा रहेको च्याङ्ग्रे पोखरीको पानी वर्षभरि नसुक्ने विशेषता पनि स्थानीयका लागि आकर्षणको विषय बनेको छ।
हाल उक्त क्षेत्रमा गजुरसहित करिब ३१ फिट अग्लो पञ्चकन्या मन्दिर निर्माणाधीन अवस्थामा छ। पुरातात्त्विक शैलीमा निर्माण गरिने मन्दिरको छाना तामाले छाउने योजना रहेको छ। मन्दिर निर्माणका लागि करिब एक करोड ८४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।मन्दिर निर्माणका लागि गत वैशाखमा सञ्चालन गरिएको विराट महायज्ञबाट एक करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको थियो। स्थानीय तहका अनुसार निर्माण कार्यलाई पूर्णता दिन दाताहरूबाट सहयोग जुट्ने क्रम अझै जारी छ।

