कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

काठमाडौँ, ७ असार – देशका विभिन्न क्षेत्रमा मनसुनी तथा स्थानीय वायुको प्रभाव कायम रहँदा आज कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने तराईका केही क्षेत्रमा तातो लहरको जोखिम देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशका केही भू–भागमा मनसुनी वायु सक्रिय छ भने अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ।

देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो हिमाली तथा पहाडी भू–भागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहने जनाएको छ। मधेस प्रदेश तथा बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।

आज कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहरको प्रभाव देखिन सक्ने तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकीका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी प्रदेशका तराईका केही स्थान र मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले भारी वर्षा, चट्याङ र तातो लहरको जोखिम रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमसम्बन्धी पछिल्ला सूचना तथा पूर्वानुमान नियमित रूपमा अवलोकन गर्न पनि अनुरोध गरिएको छ।

Facebook Comments Box