अन्नपूर्ण आधार शिविरमा बढ्दो पर्यटक चाप, पूर्वाधार विस्तारको आवश्यकता

म्याग्दी, ७ असार – म्याग्दीस्थित अन्नपूर्ण आधार शिविर पछिल्ला वर्षहरूमा आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। एक समय ओझेलमा रहेको यो क्षेत्र अहिले पदमार्ग निर्माण, पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनका प्रयासपछि पर्यटकले भरिभराउ हुन थालेको छ।

अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित ८,०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुग्ने पदमार्ग निर्माण भएपछि पर्यटक आगमन उल्लेखनीय रूपमा बढेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो। छोटो समयमै सहज पदयात्रा गर्न सकिने भएकाले यो गन्तव्य विशेषगरी आन्तरिक पर्यटकको रोजाइमा परेको उहाँको भनाइ छ।

विसं २०६७ सम्म अन्नपूर्ण आधार शिविर म्याग्दीमा रहेको तथ्य व्यापक रूपमा परिचित थिएन। सन् २०१२ मा अन्नपूर्ण हिमालका प्रथम आरोही मौरिस हर्जोगले नारच्याङ पुगेर आरोहणका क्रममा प्रयोग गरिएको मार्गबारे जानकारी दिएपछि स्थानीयवासीले उक्त पदमार्गको खोज तथा अध्ययन सुरु गरेका थिए। त्यसपछि अन्नपूर्ण गाउँपालिकाले मार्गको नक्साङ्कन गरी ‘मौरिस हर्जोग पदमार्ग’ नामकरण गरेको थियो।

समुद्री सतहबाट ४,१९० मिटर उचाइमा रहेको आधार शिविरसम्म पुग्न अहिले नारच्याङदेखि हुमखोलासम्म सडक र त्यहाँबाट आधार शिविरसम्म पदमार्गको सुविधा उपलब्ध छ। हिमाल, झरना, मिस्त्रीखोला, दुर्लभ वनस्पति तथा वन्यजन्तुको अवलोकन गर्दै दुई दिनको पदयात्रामा आधार शिविर पुग्न सकिन्छ।

भुसकेतका होटल व्यवसायी माइकल पुनका अनुसार हाल सञ्चालनमा रहेका अस्थायी रेष्टुरेन्टहरूको क्षमता सीमित भए पनि वसन्त र शरदयाममा दैनिक २०० भन्दा बढी पर्यटक पुग्ने गरेका छन्। पूर्वाधार अभावका कारण कतिपय पर्यटकलाई टेन्ट र पालमार्फत बसोबासको व्यवस्था गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।

आधार शिविरमुनि रहेको पञ्चकुण्ड ताल यस क्षेत्रको अर्को प्रमुख आकर्षण हो। अन्नपूर्ण हिमालबाट पग्लिएको हिउँको पानीबाट बनेको यो प्राकृतिक हिमतालबाट एकैसाथ हिमाल र तालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। आधार शिविर क्षेत्रमा अन्नपूर्ण हिमालका प्रथम आरोहीहरूको सालिक र हालसम्म हिमाल आरोहण गर्ने ५३६ आरोहीको नाम समेटिएको खुला सङ्ग्रहालयसमेत निर्माण गरिएको छ। यद्यपि सञ्चार, विद्युत्, स्वास्थ्य सेवा तथा आवास सुविधाको अभावले पर्यटक र व्यवसायी दुवैलाई समस्या भइरहेको छ।

बढ्दो पर्यटक आगमनसँगै फोहर व्यवस्थापन, पदमार्ग स्तरोन्नति तथा झोलुङ्गे पुल सुधारको आवश्यकता पनि महसुस गरिएको छ। स्थानीय सरोकारवालाले पूर्वाधार विस्तार र व्यवस्थापनमा ध्यान दिन सके अन्नपूर्ण आधार शिविर नेपालको प्रमुख हिमाली पर्यटन गन्तव्यका रूपमा अझ स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

Facebook Comments Box