फिफा विश्वकप–२०२६ : अष्ट्रेलियामाथि अमेरिकाको सहज जित, नकआउट चरणमा प्रवेश

काठमाडौँ, ६ असार फिफा विश्वकप फुटबल–२०२६ अन्तर्गत समूह ‘डी’को खेलमा अमेरिकाले अष्ट्रेलियालाई २–० गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली अमेरिकाले प्रभावशाली प्रदर्शन गर्दै लगातार दोस्रो जित हासिल गरेको हो। यसअघि अमेरिकाले आफ्नो पहिलो खेलमा पाराग्वेलाई पराजित गरेको थियो।

अमेरिकाको जितमा एक गोल एलेक्स फ्रीम्यानले गरे भने अर्को गोल अष्ट्रेलियाले आत्मघाती रूपमा उपहार दिएको थियो। खेलको ११औँ मिनेटमा अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले क्लियर गर्ने क्रममा बल आफ्नै पोस्टमा छिराउँदा अमेरिकाले अग्रता लिएको थियो।

त्यसपछि खेलको ४३औँ मिनेटमा एलेक्स फ्रीम्यानले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाए। दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि अमेरिका २–० को विजयी भयो। यस जितसँगै समूह ‘डी’मा रहेको अमेरिकाले दुई खेलबाट ६ अङ्क जोड्दै नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको छ।

Facebook Comments Box