क्यानका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं, ३ असार  – विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीराज श्रेष्ठको इजलासले पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो।

तत्कालीन महानिर्देशक गौतममाथि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा अनियमितता तथा रकम हिनामिना भएको अभियोग लागेकाले अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। विशेष अदालतको आदेशमा भनिएको छ, “प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई प्रस्तुत मुद्दामा प्रतिवादी सञ्जीव गौतमलाई थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनु।”

अभियोगअनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारीले इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) सम्झौताअन्तर्गत खर्च हुनुपर्ने २८ लाख अमेरिकी डलर खर्च नगरी आयोजनाको लागत अस्वाभाविक रूपमा बढाई नेपाल नागरिक उड्डयन प्राधिकरणको ५० करोड ३४ लाख ४० हजार ६९६ रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ। उक्त प्रकरणमा पूर्वमहानिर्देशक गौतमको समेत संलग्नता रहेको दाबी गर्दै उनीविरुद्ध मुद्दा दायर गरिएको थियो।

Facebook Comments Box