अमेरिका–इरान शान्ति सम्झौतामा सहमति, जुन १९ मा हस्ताक्षर हुने
काठमाडौँ, १ असार – केही महिनादेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरान शान्ति सम्झौतामा सहमत भएका छन्। दुवै देशका अधिकारीहरूले युद्ध अन्त्य, इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने तथा स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने विषयमा सहमति जुटेको बताएका छन्। सम्झौतामा आगामी जुन १९ मा स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर गरिने जनाइएको छ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जालमार्फत अमेरिका र इरानबीच गहन तथा निरन्तर वार्तापछि शान्ति सम्झौता सम्पन्न भएको जानकारी दिनुभएको हो। उहाँका अनुसार दुवै पक्षले लेबनानसहित सबै मोर्चामा जारी सैन्य गतिविधि तत्काल र स्थायी रूपमा अन्त्य गर्न सहमति जनाएका छन्।
प्रधानमन्त्री शरीफले अमेरिका र इरानले कूटनीतिक समाधान रोजेकोमा स्वागत गर्दै यस प्रक्रियामा सहयोग पुर्याउने कतार, साउदी अरेबिया र टर्कीप्रति पनि आभार व्यक्त गर्नुभएको छ। पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै शान्ति प्रक्रियालाई सहजीकरण गरेको बताइएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको शान्ति सम्झौता टुंगोमा पुगेको पुष्टि गर्नुभएको छ।
उहाँले आफ्नो सामाजिक सञ्जालमार्फत सम्झौता सम्पन्न भएको र आगामी चरणमा कार्यान्वयनसम्बन्धी प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले पनि सम्झौताको पुष्टि गर्दै लेबनानसहित सबै मोर्चामा युद्ध र सैन्य कारबाही तत्काल अन्त्य हुने जनाएको छ। साथै इरानविरुद्ध लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी पनि हटाइने उल्लेख गरिएको छ।
सम्झौता कार्यान्वयनअघि विभिन्न प्राविधिक तथा कूटनीतिक बैठकहरू आयोजना गरिनेछन्। ती बैठकहरूले औपचारिक हस्ताक्षर र कार्यान्वयन प्रक्रियाका लागि आवश्यक आधार तयार गर्ने अपेक्षा गरिएको छ। विश्लेषकहरूका अनुसार अमेरिका–इरानबीचको यो सहमतिले विश्व ऊर्जा बजारमा सकारात्मक प्रभाव पार्न सक्छ।
विशेषगरी स्ट्रेट अफ होर्मुजमार्फत तेल ढुवानी पुनः सहज भएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्ति बढ्ने र मूल्यमा समेत केही राहत मिल्ने अपेक्षा गरिएको छ। गत फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलद्वारा इरानमाथि आक्रमण भएपछि मध्यपूर्व क्षेत्र तनावग्रस्त बनेको थियो। त्यसयता तेल आपूर्तिमा अवरोध उत्पन्न हुँदा विश्व बजारमा इन्धनको मूल्यसमेत उल्लेखनीय रूपमा बढेको थियो।

