विश्वकपमा ब्राजिल र मोरक्को बराबरी
काठमाडौं, ३१ जेठ – पाँच पटकको विश्वविजेता ब्राजिलले फिफा विश्वकप–२०२६ को पहिलो खेलमा मोरक्कोसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। आइतबार बिहान समूह ‘सी’ अन्तर्गत भएको खेलमा उपाधिको प्रमुख दाबेदार मानिएको ब्राजिल एक गोलले पछि परेको अवस्थामा खेलमा फर्कँदै बराबरी गर्न सफल भएको हो।
विश्वकपमा ब्राजिलले पहिलो खेलमा जित निकाल्न नसकेको यो आठ वर्षपछि पहिलो पटक हो। यसअघि सन् २०१८ को विश्वकपमा पनि ब्राजिलले आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको थियो। यद्यपि, ब्राजिलले विश्वकपको पहिलो खेलमा अपराजित रहने आफ्नो श्रृंखला २१ खेलसम्म पुर्याएको छ। सन् १९३४ मा भएको विश्वकपको दोस्रो संस्करणमा स्पेनसँग पहिलो खेलमा पराजित भएपछि ब्राजिलले विश्वकपका उद्घाटन खेलहरूमा हार बेहोरेको छैन।
त्यसयता उसले १७ खेल जितेको र चार खेल बराबरी खेलेको छ। अमेरिकाको न्युयोर्क–न्यु जर्सी रंगशालामा भएको खेलमा दुवै टोलीले पहिलो हाफमै गोल गरेका थिए। खेलको २१औँ मिनेटमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता धेरै समय टिक्न सकेन।
ब्राजिलका लागि ३२औँ मिनेटमा भिनिसियस जुनियरले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए। उनले ब्रुनो गुइमाराएसको पासलाई सदुपयोग गर्दै मोरक्कोका रक्षकहरूलाई छलाएर आकर्षक फिनिसिङ गरेका थिए। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल १–१ को बराबरीमा सकियो र दुवैले एक–एक अंक बाँडे। यसैबीच, फिफा विश्वकप–२०२६ अन्तर्गत आइतबारको अर्को खेल स्कटल्यान्ड र हाइटीबीच बिहान पौने ७ बजे सुरु हुनेछ।

