हावाहुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित, दर्जनौँ घर र गोठमा क्षति

कञ्चनपुर, ३० जेठ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ मा बुधबार राति आएको भीषण हावाहुरीबाट ८० परिवार प्रभावित भएका छन्। हावाहुरीका कारण ६० वटा घर र २० वटा गोठमा क्षति पुगेको छ भने विद्युत् तथा सञ्चार संरचनामा समेत ठूलो नोक्सानी भएको छ।स्थानीय महेश जोशीले हावाहुरीले घरको छाना उडाएर लगेको र त्यसपछि परेको वर्षाले अन्नपात, खाद्यान्न तथा लुगाफाटा भिजाएर नष्ट बनाएको बताउनुभयो। “ज्यान जोगाउनमै व्यस्त हुनुपर्‍यो, अन्य सामान बचाउने अवसर नै पाइएन,” उहाँले भन्नुभयो।

शुक्लाफाँटा नगरपालिका–९ का वडाध्यक्ष रमेशबहादुर ऐरका अनुसार हावाहुरीले अधिकांश घरका जस्तापाता र टायलका छाना उडाएको छ। त्यसपछि परेको वर्षाले घरभित्र राखिएका खाद्यान्न तथा अन्य सामग्रीमा थप क्षति पुर्‍याएको छ। “धेरै परिवार समस्यामा परेका छन्। केही आफन्तकहाँ आश्रय लिएर बसेका छन् भने कतिपय अस्थायी व्यवस्थामा खुला आकाशमुनि बस्न बाध्य छन्,” वडाध्यक्ष ऐरले बताउनुभयो।

हावाहुरीका कारण विद्युत् संरचनामा पनि व्यापक क्षति पुगेको छ। वडाका विभिन्न स्थानमा १८ वटा विद्युत् पोल ढलेका छन् भने केही पोल भाँचिएका छन्। २०० केभीएको ट्रान्सफर्मर जडित पोल ढलेपछि दुई दिनदेखि सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ। वडाध्यक्ष ऐरका अनुसार पाँच वटा सिसिटिभी क्यामेरा क्षतिग्रस्त भएका छन् भने करिब डेढ किलोमिटर क्षेत्रमा सिसिटिभीको तार चुँडिएको छ। साथै केही घर तथा विद्यालयमा रुख ढल्दा थप क्षति पुगेको छ।

क्षतिग्रस्त क्षेत्रमा विद्युत् सेवा पुनःस्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली परिचालन गरिएको छ। ढलेका पोल हटाउने, नयाँ पोल जडान गर्ने तथा विद्युत् लाइन मर्मत गर्ने काम तीव्र रूपमा भइरहेको जनाइएको छ। “मौसमले साथ दिए भोलिसम्म विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ,” वडाध्यक्ष ऐरले भन्नुभयो।

हावाहुरीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गर्न प्रहरी तथा स्थानीय जनप्रतिनिधिको टोलीले मुचुल्का तयार पार्ने काम सुरु गरेको छ। प्रभावित परिवारको विवरण सङ्कलनसँगै राहत वितरण तथा पुनःस्थापनासम्बन्धी प्रक्रिया अघि बढाइएको जनाइएको छ।स्थानीयवासीका अनुसार केही मिनेटसम्म चलेको हावाहुरीले वर्षौँको मेहनतले निर्माण गरिएका घर तथा संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

विशेषगरी न्यून आय भएका परिवारहरू बढी प्रभावित भएका छन्। स्थानीय तहले प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरी प्रभावित परिवारलाई राहत उपलब्ध गराउने र पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने जनाएको छ।

Facebook Comments Box