काठमाडौं महानगरको १९औँ नगरसभा जेठ ३१ गते बस्ने
काठमाडौँ, २७ जेठ – काठमाडौं महानगरपालिकाले नगरसभाको १९औँ अधिवेशन आगामी जेठ ३१ गते आइतबार बिहान ११ बजेका लागि आह्वान गरेको छ। कामपा प्लाजास्थित सभाकक्षमा कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सोमबार बसेको ५०औँ कार्यपालिका बैठकले नगरसभाको मिति र समय तय गरेको हो।
बैठकले नेपाल भाषाको बालविकास तथा पूर्वप्राथमिक तहको पाठ्यक्रम स्वीकृत गर्ने निर्णय पनि गरेको छ। शिक्षा तथा स्वास्थ्य समितिको सिफारिसका आधारमा नेपाल भाषा, स्थानीय विषय तथा बालविकास तहका पाठ्यक्रममा समसामयिक संशोधन र परिमार्जन गरी स्वीकृत गरिएको महानगरपालिकाले जनाएको छ। बैठकमा शिक्षा अधिकारी नमराज ढकालले नेपाल भाषासम्बन्धी स्थानीय पाठ्यक्रम स्वीकृतिका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
यसअघि शिक्षा तथा स्वास्थ्य समितिले पाठ्यक्रम संशोधन तथा स्वीकृतिका लागि कार्यपालिकामा प्रस्ताव पठाउने निर्णय गरेको थियो। बैठकमा विभिन्न वडाका जनप्रतिनिधिले सुकुमवासी तथा स्ववासी व्यवस्थापनका विषयमा धारणा राखेका थिए। सामाजिक समिति, सम्पदा तथा पर्यटन समिति तथा विधायन समितिका संयोजकहरूले स्ववासीको पहिचान, तथ्यांक सङ्कलन तथा व्यवस्थापनका लागि सहजीकरण समिति गठन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा प्रभावित परिवारका समस्याप्रति ध्यान दिन नेपाल सरकारसँग आग्रह गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले सुकुमवासी तथा स्ववासी व्यवस्थापनका विषयमा नेपाल सरकार र काठमाडौं महानगरपालिकाको संयुक्त टोलीले अध्ययन गरिरहेको जानकारी दिनुभयो।
उहाँले अध्ययन टोलीको प्रतिवेदन प्राप्त भएपछि समस्या समाधानका लागि थप स्पष्ट आधार तयार हुने विश्वास व्यक्त गर्नुभयो। यस्तै विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले सामाखुशी नदी किनाराको मापदण्ड कार्यान्वयनका क्रममा सार्वजनिक प्रयोजनका लागि निजी जग्गा उपलब्ध गराउने परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव राख्नुभएको थियो।

