इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, अमेरिकाद्वारा केशम टापुमा आक्रमण

काठमाडौं, २७ जेठ – होर्मुज जलडमरूमध्य नजिक अमेरिकी सेनाको अपाचे हेलिकोप्टर खसालिएको घटनापछि अमेरिका र इरानबीचको तनाव पुनः चुलिएको छ। घटनालगत्तै अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको जनाइएको छ भने इरानले त्यसको कडा जवाफ दिने चेतावनी दिएको छ।

इरानका सरकारी सञ्चारमाध्यमका अनुसार होर्मुज जलडमरूमध्यस्थित केशम टापुमा विस्फोटको आवाज सुनिएको थियो। विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक मानिने उक्त क्षेत्रमा पछिल्ला दिनमा सुरक्षा चुनौती बढ्दै गएको छ। सञ्चारमाध्यमहरूले आक्रमण राजधानी तेहरान वा अन्य प्रमुख सहरमा नभई केशम टापुमा केन्द्रित रहेको बताएका छन्। घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी सेनाको अपाचे हेलिकोप्टर खसालेको आरोप लगाउँदै त्यसको जवाफ दिइने बताएका थिए। उनले हेलिकोप्टरमा सवार दुवै सैनिक सुरक्षित रहेको र कुनै चोटपटक नलागेको जानकारी दिएका थिए।अमेरिकी सेनाका अनुसार हेलिकोप्टर ओमानको तट नजिक दुर्घटनाग्रस्त भएको थियो। त्यसमा रहेका दुई चालक दलका सदस्यलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको जनाइएको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

घटनापछि गरिएको अमेरिकी आक्रमणप्रति प्रतिक्रिया जनाउँदै इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देश आवश्यक परे प्रतिकार गर्न तयार रहेको बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले क्षेत्र वरिपरि रहेका विदेशी सेनाहरू सधैँ जोखिममा रहने चेतावनी दिएका छन्। अराघचीले इरानले कूटनीतिलाई प्राथमिकता दिए पनि आवश्यक परे अन्य माध्यमबाट पनि जवाफ दिन सक्ने उल्लेख गरेका छन्।

हेलिकोप्टर खसालिएको घटना र त्यसपछिको अमेरिकी कारबाहीले पछिल्ला दुई महिनादेखि कायम रहेको युद्धविराममाथि थप दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ। हालै होर्मुज क्षेत्र आसपास भएका झडप तथा लेबनानमा इजरायली आक्रमणका घटनाले पनि क्षेत्रीय तनाव बढाएको छ।

अमेरिका र इजरायलले फेब्रुअरी अन्त्यदेखि इरानविरुद्ध सैन्य कारबाही सुरु गरेयता पश्चिम एसियामा अस्थिरता बढ्दै गएको छ। यसले विश्व ऊर्जा बजार र अन्तर्राष्ट्रिय व्यापारमा समेत प्रभाव पारेको छ। दुवै पक्षबीच स्थायी सहमति हुन नसकेको अवस्थामा पछिल्लो घटनाक्रमले क्षेत्रीय द्वन्द्व पुनः व्यापक युद्धतर्फ उन्मुख हुन सक्ने चिन्ता बढाएको छ।

Facebook Comments Box