रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित

काठमाडौं, २४ जेठ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनको अन्तिम मतपरिणामअनुसार सागर दाहाल जिल्ला सभापतिमा निर्वाचित भएका छन्। दाहालले १४२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी कृष्ण रौनियार ले ७४ मत, मोहन निरौला ले ६२ मत तथा चक्र विष्ट ले १० मत प्राप्त गरेका थिए।

उपसभापति पदमा राजेशमान श्रेष्ठ १९७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी देवीका भण्डारी ले ७४ मत प्राप्त गरेकी थिइन्। अधिवेशनले सचिव र सहसचिव पदमा भने सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ। सचिवमा राजाराम कुमार मेहता तथा सहसचिवमा योगेन्द्र गिरी निर्विरोध निर्वाचित भएका छन्।

जिल्ला सदस्यहरूमा लक्ष्मी सुवेदी (२०९ मत), राजकुमारी मेहता (१६९ मत), धरमवीर आर्य (११२ मत), रेणुका हरिजन (१०९ मत) र गोकुल थापा (१०७ मत) निर्वाचित भएका छन्। नवनिर्वाचित नेतृत्वले जिल्लामा पार्टी संगठन विस्तार, जनसरोकारका मुद्दामा सक्रियता तथा पार्टीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Facebook Comments Box