‘समुन्नत समाज निर्माण गरौँ’ : राष्ट्रपति पौडेल
काठमाडौँ, १५ जेठ – रामचन्द्र पौडेल ले सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउन राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला सबै पक्षलाई आह्वान गर्नुभएको छ । १९औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राख्दै दिगो, फराकिलो तथा समन्यायिक आर्थिक वृद्धि हासिल होस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।
उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति र समृद्धिको समेत शुभकामना व्यक्त गर्नुभएको छ । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्नु आजको राष्ट्रिय आवश्यकता हो,” सन्देशमा उल्लेख छ ।
संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको राष्ट्रपति पौडेलले बताउनुभएको छ । “आजको यस ऐतिहासिक दिवसले हामी नेपालीबीच आपसी विश्वास, सहकार्य र राष्ट्रिय एकताको भावना अझ सुदृढ बनाओस्,” सन्देशमा भनिएको छ ।
लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले विभिन्न आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेताहरू तथा आन्दोलनमा सहभागी नागरिक, जनसमुदाय र राजनीतिक कार्यकर्ताको योगदानको प्रशंसा गर्नुभएको छ ।
यसैबीच, रामसहायप्रसाद यादव ले पनि गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै लोकतन्त्र, सङ्घीयता, समावेशिता र संविधानका उपलब्धिको रक्षा गर्दै राष्ट्रिय एकता र अखण्डतालाई थप सुदृढ बनाउन यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
उपराष्ट्रपति यादवले गणतन्त्र दिवसलाई मुलुकको गौरवशाली परम्परा, सांस्कृतिक विविधता, राष्ट्रिय उपलब्धि र प्रगतिलाई उजागर गर्ने अवसरका रूपमा मनाउनुपर्ने उल्लेख गर्नुभएको छ । संविधानले प्रत्याभूत गरेका अधिकार र कर्तव्यलाई समान रूपमा आत्मसात् गर्दै अघि बढ्न सके मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था थप सबल, सुदृढ र जीवन्त बन्न सक्ने उहाँको भनाइ छ ।

