छोटी भन्सार हटाउने निर्णयविरुद्ध सिरहामा प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला दहन
सिरहा, १३ जेठ – सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय हटाउने सरकारी निर्णयविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन् । आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले मसाल जुलुस निकाल्दै प्रधानमन्त्री वालेन्द्र शाह को पुत्ला दहन गरेका छन् । स्थानीयवासी तथा व्यवसायीहरूले भन्सार कार्यालय पुनःस्थापनाको माग गर्दै सडक आन्दोलन जारी राखेका छन् । प्रदर्शनका क्रममा उनीहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
आन्दोलित पक्षका अनुसार छोटी भन्सार बन्द भएपछि स्थानीय व्यापार, रोजगारी तथा राजस्व संकलनमा प्रत्यक्ष असर परेको छ । सीमा क्षेत्रमा अनुगमन कमजोर हुँदा तस्करी बढ्ने जोखिमसमेत बढेको उनीहरूको भनाइ छ । मंगलबार साँझ निकालिएको मसाल जुलुसमा ठूलो संख्यामा स्थानीयवासी सहभागी भएका थिए । उनीहरूले निर्णय तत्काल फिर्ता नभए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
वडा नम्बर ३ का अध्यक्ष तथा आन्दोलन संयोजक विनोद यादव ले जनहितविपरीत निर्णय स्वीकार्य नहुने बताएका छन् । आवश्यक परे पदबाट राजीनामा दिनसमेत तयार रहेको उनको भनाइ छ । स्थानीय व्यापारी चन्देश्वर यादव का अनुसार भन्सार सञ्चालनका लागि स्थानीयले अनुदानमा जग्गा उपलब्ध गराएका थिए । उक्त भन्सारबाट मासिक ८ देखि १० लाख रुपैयाँसम्म राजस्व संकलन हुँदै आएको उनले बताए । स्थानीय अगुवाहरूले आफ्ना माग सम्बोधन नभए आन्दोलन थप सशक्त बनाइने चेतावनी दिएका छन् ।

