चार पटक म्याद थप्दा पनि पूरा भएन गुल्मी अस्पतालको भवन निर्माण
रेसुङ्गा, ११ जेठ – गुल्मी अस्पताल को नयाँ भवन निर्माण कार्य चार पटक म्याद थप्दा पनि सम्पन्न हुन सकेको छैन । भवन निर्माणको सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम अधुरै रहेको हो । अस्पताल भवन निर्माणका लागि २०७८ असार १८ गते स्वच्छन्दरबानियाँ जेभी सँग सम्झौता गरिएको थियो । योजनाको लागत भ्याटबाहेक २५ करोड ९४ लाख रुपैयाँ रहेको छ ।
सडक, सहरी तथा भवन निर्माण आयोजना का इन्जिनियर अभिषेक अधिकारी का अनुसार हालसम्म भवनको भौतिक प्रगति ८५ प्रतिशत र आर्थिक प्रगति ७६.५ प्रतिशत पुगेको छ । सम्झौताअनुसार निर्माण कार्य २०८० असार १७ गतेभित्र सम्पन्न हुनुपर्ने थियो । समयमै काम नसकिएपछि पहिलो पटक २०८० पुस १७ गतेसम्म, दोस्रो पटक २०८१ पुस १७ गतेसम्म तथा तेस्रो पटक २०८२ कात्तिक ७ गतेसम्म म्याद थप गरिएको थियो ।
हाल चौथो पटक २०८२ जेठ १७ गतेसम्मका लागि समयसीमा थप गरिएको भए पनि कामको प्रगति सन्तोषजनक नरहेको आयोजनाले जनाएको छ । इन्जिनियर अधिकारीका अनुसार भवन बाहिरको संरचना, र्याम्प निर्माण, ट्रान्सफर्मर तथा जेनेरेटर जडानलगायतका काम अझै बाँकी छन् । पर्याप्त जनशक्ति र निर्माण सामग्री उपलब्ध भए एक महिनाभित्र काम सक्न सकिने उनले बताए ।
निर्माण कार्य ढिलाइ हुँदा अस्पतालको सेवा प्रवाह प्रभावित भएको अस्पताल प्रशासनले जनाएको छ । ५० शय्यामा स्तरोन्नति भइसकेपछि हालको भवन पर्याप्त नभएको र दैनिक करिब २५० सेवाग्राहीलाई सेवा दिन कठिन भइरहेको अस्पतालको भनाइ छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट विभव बस्याल ले नयाँ सेवा विस्तारसँगै पुरानो संरचनाबाट सेवा सञ्चालन गर्न समस्या भइरहेको बताए ।
उनले भवन अभावका कारण आइसियु सञ्चालन तथा मिर्गौला डायलाइसिस सेवा विस्तार गर्न नसकिएको जानकारी दिए । साथै बिरामीका कुरुवाका लागि पर्याप्त बस्ने ठाउँसमेत नभएको उनको भनाइ छ । पुराना संरचना र वायरिङका कारण इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणाली सञ्चालनमा समेत समस्या भइरहेको अस्पतालले जनाएको छ ।

