कोशीदेखि गण्डकीसम्म वर्षाको सम्भावना, पश्चिममा तातो लहरको जोखिम कायम
काठमाडौं, ११ जेठ – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ ।
मधेश प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ । हाल कोशी प्रदेश र गण्डकी प्रदेश का केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । साथै बागमती प्रदेश का एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । मधेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश का पहाडी क्षेत्रमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित अन्य हिमाली भूभागमा सामान्य बदली रहनेछ । बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

