रास्वपाको बारा विस्तारित बैठकमा विवाद, कार्यक्रम बिथोल्ने प्रयास

 बारा, ९ जेठ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला स्तरीय विस्तारित बैठक बिथोल्ने प्रयास भएको छ। जिल्ला सभापति चन्दन स्वर्णकार लाई पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेपछि स्वर्णकार पक्षधर कार्यकर्ताले कलैयास्थित कार्यक्रमस्थलमा नाराबाजी गरेका हुन्।

बारा–१ का सांसद गणेश धिमाल ले स्वर्णकार समर्थकले कार्यक्रम बिथोल्ने प्रयास गरे पनि पार्टीको निर्धारित कार्यक्रम भने सुरु भएको बताएका छन्। स्वर्णकारलाई पार्टीबाट निष्कासन गर्न नहुने माग गर्दै उनका समर्थकले बाराका सांसदविरुद्ध नाराबाजी गरेका थिए।

कार्यक्रमस्थलमा सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, अरबिन्द साहचन्दन सिंह माथि हातपातको प्रयास समेत भएको बताइएको छ। त्यसपछि प्रहरीले सांसदहरूलाई कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो।

हाल कलैयास्थित करणराज होटल क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर कार्यक्रम सञ्चालन भइरहेको छ। पार्टीबाट निष्कासित स्वर्णकारले भने बारा जिल्लाका सांसदहरूले आफू निकट व्यक्तिलाई मात्रै समेटेर जिल्ला समिति बनाउन खोजेपछि पुराना कार्यकर्ताले विरोध जनाएको प्रतिक्रिया दिएका छन्।

Facebook Comments Box