सी चिनफिङ र भ्लादिमिर पुटिन बीच भएको उच्चस्तरीय वार्तापछि संयुक्त विज्ञप्ति जारी

बेइजिङ, ७ जेठ – सी चिनफिङभ्लादिमिर पुटिन बीच भएको उच्चस्तरीय वार्तापछि चीन र रुसले संयुक्त विज्ञप्ति जारी गरेका छन् । संयुक्त विज्ञप्तिमा दुवै देशले समान र सन्तुलित बहुध्रुवीय विश्व निर्माण तथा नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धको प्रवर्द्धनमार्फत न्यायपूर्ण र निष्पक्ष विश्व व्यवस्थाको पक्षमा जोड दिएका छन् ।

यस उद्देश्यका लागि चीन र रुसले अन्तर्राष्ट्रिय समुदायलाई केही आधारभूत सिद्धान्त अवलम्बन गर्न आह्वान गरेका छन् । विज्ञप्तिमा उल्लेख गरिएका प्रमुख सिद्धान्तहरू यस्ता छन् :

  • सबै देशले सहकार्य गर्दै साझा लाभ हासिल गर्ने विश्व व्यवस्था निर्माण हुनुपर्ने ।
  • प्रत्येक राष्ट्रको सुरक्षालाई समान महत्त्व दिइनुपर्ने ।
  • विश्वव्यापी निर्णय प्रक्रियामा धेरै देशको सहभागिता सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय संरचनालाई थप प्रभावकारी बनाइनुपर्ने ।
  • विश्वका विविध संस्कृति, सभ्यता र विचारको सम्मान गरिनुपर्ने ।

दुवै देशले बहुध्रुवीय विश्व व्यवस्था र न्यायपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्न मिलेर काम जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शिखर सम्मेलनका क्रममा चीन र रुसबीच व्यापार, प्रविधि तथा सहकार्यसँग सम्बन्धित २० भन्दा बढी सम्झौतामा हस्ताक्षर भएको जनाइएको छ ।

वार्ताका क्रममा सीले “अधिक न्यायपूर्ण र तर्कसंगत विश्वव्यापी शासन प्रणाली” प्रवर्द्धनमा चीन र रुसले ध्यान केन्द्रित गर्नुपर्ने बताएका थिए । त्यसैगरी पुटिनले दुई देशबीचको सम्बन्ध “साँच्चै अभूतपूर्व स्तर” मा पुगेको टिप्पणी गरेका थिए ।राष्ट्रपति पुटिन मंगलबार राति चीन भ्रमणका लागि बेइजिङ पुगेका थिए । उनले बुधबार आफ्नो चीन भ्रमण सम्पन्न गरेका छन् ।

Facebook Comments Box