स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा युवक पक्राउ

स्याङ्जा, ४ जेठ – स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । हरिनास गाउँपालिका–६ मा भएको घटनापछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गत शुक्रबार राति करिब ११ बजेतिर बालिकामाथि जबरजस्ती करणी भएको सूचना प्राप्त भएपछि तत्काल प्रहरी परिचालन गरिएको थियो ।

घटनापछि जिल्ला प्रहरी कार्यालय स्याङ्जा र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले २८ वर्षीय सन्दीप विकलाई शनिबार पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । पक्राउ परेका विक पनि सोही गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।

प्रहरीका अनुसार आरोपितलाई घटनास्थल आसपासबाट नियन्त्रणमा लिइएको हो । उहाँविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । घटनापछि पीडित बालिकाको स्वास्थ्य परीक्षणसहित आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । बालअधिकार र संवेदनशीलतासँग सम्बन्धित विषय भएकाले पीडितको पहिचान खुल्ने विवरण सार्वजनिक नगरिएको प्रहरीले बताएको छ ।

प्रहरी नायब उपरीक्षक चौधरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान भइरहेको बताउनुभयो । “घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको थियो । आरोपितलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ,” उहाँले भन्नुभयो । प्रहरीले स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनासम्बन्धी थप प्रमाण सङ्कलन, बयान तथा अन्य अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ ।

Facebook Comments Box