यूएईको बराकाह आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमण, ओआईसीद्वारा निन्दा
काठमाडौँ, ५ जेठ – इस्लामिक सहयोग संगठन (ओआईसी) ले संयुक्त अरब इमिरेट्स (यूएई) स्थित बराकाह आणविक ऊर्जा केन्द्रमा भएको ड्रोन आक्रमणको निन्दा गरेको छ । ओआईसीका महासचिवले विज्ञप्ति जारी गर्दै नागरिक प्रतिष्ठान तथा महत्त्वपूर्ण पूर्वाधारमा आक्रमण गर्नु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएको बताउनुभएको छ ।
संगठनले यूएईप्रति ऐक्यबद्धता जनाउँदै देशको सुरक्षा र स्थिरताका लागि चालिएका सबै कदमप्रति समर्थन जनाएको छ । अबुधाबीस्थित बराकाह आणविक ऊर्जा केन्द्रमा आइतबार राति ड्रोन आक्रमण भएको थियो । आक्रमणका कारण ऊर्जा केन्द्र नजिकको विद्युत् उत्पादन उपकरणमा आगलागी भएको जनाइएको छ । आगो पछि नियन्त्रणमा लिइएको थियो ।
घटनामा कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् । हालसम्म कुनै पनि समूह वा राष्ट्रले आक्रमणको जिम्मेवारी स्वीकार गरेको छैन । यद्यपि, घटनामा इरानको संलग्नता हुन सक्ने आशंका गरिएको छ । पछिल्लो समय इरानले यूएईलाई पटक–पटक चेतावनी दिँदै आएको थियो । यस घटनाले इरान र अमेरिकाबिच जारी कमजोर युद्धविरामका बीच पश्चिम एसियामा नयाँ तनाव उत्पन्न हुने चिन्ता बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

