पश्चिमी वायुको प्रभाव कायम, केही प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ, ५ जेठ  गते – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । मधेश प्रदेश तथा अन्य प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा बाँकी पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबीच सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ । आज राति पनि कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ । अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

Facebook Comments Box