प्रधानन्यायाधीश सिफारिसमाथि संसदीय सुनुवाइ आजदेखि सुरु
काठमाडौँ, ५ जेठ – प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका डा. मनोजकुमार शर्मामाथिको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ । त्यसका लागि संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ८ बजे बस्ने तय गरिएको छ । सङ्घीय संसद् भवनस्थित विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्ने बैठकमा डा. शर्माविरुद्ध परेका उजुरी खोल्ने तथा सुनुवाइसम्बन्धी कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको समितिकी उपसचिव सावित्रा शर्माले जानकारी दिनुभयो ।
स्रोतका अनुसार उहाँविरुद्ध सात वटा उजुरी दर्ता भएका छन् । गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा. शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था रहेको छ ।
वरियता मिचेर प्रधानन्यायाधीशमा सिफारिस गरिएको भन्दै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित सर्वोच्च अदालतका केही न्यायाधीश तथा कानुन व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् । यस विषयलाई लिएर न्यायिक वृत्तमा बहससमेत सुरु भएको छ ।

