इबोला फैलिँदै जाँदा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा

काठमाडौं, ४ जेठ  – विश्व स्वास्थ्य सङ्गठनले इबोला रोगको सङ्क्रमण फैलिँदै गएपछि विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । केही अफ्रिकी मुलुकमा इबोला तीव्र रूपमा फैलिन थालेपछि सङ्गठनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला संक्रमणका कारण हालसम्म ८० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार ८८ जनाको मृत्यु भइसकेको छ भने ३३६ जनामा सङ्क्रमणको आशंका गरिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार संक्रमण तीव्र गतिमा फैलिँदै गएको भन्दै विश्व समुदायमा चिन्ता बढेको छ । कङ्गोको स्वास्थ्य मन्त्रालयका अनुसार हाल देखिएको इबोला भाइरसका लागि प्रभावकारी खोप उपलब्ध छैन । रोगको मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्न सक्ने जनाइएको छ ।

स्वास्थ्य सहायता संस्थाहरूले प्रभावित क्षेत्रमा उपचार टोली तथा आपत्कालीन सहयोग पठाउने तयारी थालेका छन् । संक्रमण कङ्गोको इटुरी क्षेत्रमा सुरु भएको हो, जुन युगान्डा र दक्षिण सुडानसँग सीमा जोडिएको क्षेत्र हो । प्रारम्भिक संक्रमित एक स्वास्थ्यकर्मी रहेको जनाइएको छ । स्थानीयवासीका अनुसार उपचार केन्द्र र आइसोलेसन सुविधाको अभावका कारण धेरै बिरामीको घरमै मृत्यु भइरहेको छ, जसले संक्रमण थप फैलिने जोखिम बढाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले संक्रमितको वास्तविक संख्या तथा संक्रमण फैलिएको क्षेत्रबारे अझै स्पष्ट अवस्था नभएको बताउनुभएको छ । सङ्गठनका अनुसार अहिले फैलिएको इबोला ‘बुन्डिबुग्यो’ नामक भाइरस प्रजातिबाट भएको हो । हालसम्म प्रयोगशालाबाट आठ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण इटुरी प्रान्तको राजधानी बुनिया, मोङ्गावालु र र्वाम्पारा क्षेत्रसम्म फैलिएको जनाइएको छ ।

छिमेकी देश युगान्डामा पनि संक्रमण पुष्टि

विश्व स्वास्थ्य सङ्गठनले इबोला कङ्गोबाहिर पनि फैलिन थालेको जनाएको छ । छिमेकी मुलुक युगान्डामा दुई जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । युगान्डाका अधिकारीहरूका अनुसार बिहीबार मृत्यु भएका ५९ वर्षीय एक पुरुषमा इबोला संक्रमण पुष्टि भएको हो । बेलायती समाचार संस्था बिबिसीका अनुसार सीमावर्ती क्षेत्रहरूमा मानिसहरूको आवतजावत र व्यापारिक गतिविधिका कारण संक्रमण थप फैलिने जोखिम उच्च रहेको छ ।

नेपालमा उच्च सतर्कता

नेपाल सरकारले पनि अन्तर्राष्ट्रिय अवस्थालाई ध्यानमा राख्दै सतर्कता बढाएको जनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपालमा हालसम्म इबोला संक्रमण नदेखिए पनि आवश्यक तयारी सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित प्रमुख नाकामा स्वास्थ्य निगरानी कडा पारिएको छ भने स्वास्थ्यकर्मीलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अफ्रिकी मुलुकबाट नेपाल आउने यात्रुको स्वास्थ्य अवस्थामाथि विशेष निगरानी गरिएको बताउनुभयो । ज्वरो, अत्यधिक कमजोरी, रक्तस्राव वा अन्य शंकास्पद लक्षण देखिए तत्काल स्वास्थ्य परीक्षण गरिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

विशेषज्ञहरूका अनुसार इबोला सामान्य रूपमा हावाबाट नसरी संक्रमित व्यक्तिको रगत, पसिना, र्‍याल वा अन्य शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट सर्ने गर्दछ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालमा तत्काल ठूलो जोखिम नरहे पनि अन्तर्राष्ट्रिय आवतजावतका कारण कुनै पनि देश पूर्ण रूपमा सुरक्षित नरहने बताउनुभयो । उहाँले प्रारम्भिक पहिचान र निगरानी प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

हान्टा भाइरसप्रति पनि सतर्कता

यसैबीच विश्वका विभिन्न मुलुकमा पछिल्लो समय हान्टा भाइरस संक्रमण पनि पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले हान्टा भाइरस तत्काल नेपालमा फैलिने सम्भावना कम भए पनि सतर्कता अपनाइएको बताउनुभयो । डा. पुनका अनुसार हान्टा भाइरस दुर्लभ भाइरसजन्य संक्रमण हो, जुन संक्रमित मुसाको पिसाब, दिसा, र्‍याल वा त्यसबाट दूषित वातावरणको सम्पर्कबाट मानिसमा सर्ने गर्दछ ।

हान्टा भाइरसका प्रारम्भिक लक्षणमा ज्वरो, शरीर दुख्ने, थकान, पखाला, वाकवाकी, बान्ता तथा पेट दुख्ने समस्या देखिने गर्छ । रोग जटिल बनेमा श्वासप्रश्वासमा कठिनाइ, फोक्सो तथा मिर्गौलामा असर पुग्न सक्ने चिकित्सकहरूले बताएका छन् । विशेषज्ञहरूले रोग निगरानी प्रणाली बलियो बनाउन, परीक्षणको दायरा विस्तार गर्न तथा सम्भावित जोखिमको समयमै पहिचान गर्न सरकारलाई सुझाव दिएका छन् ।

Facebook Comments Box