एमालेभित्र नयाँ शक्ति सन्तुलनको सङ्केत, भण्डारी पुनः केन्द्रमा

काठमाडौं,  ४ जेठ – नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र नयाँ शक्ति सन्तुलन केन्द्रित आन्तरिक राजनीतिक समीकरण विकसित हुन थालेको संकेत देखिएको छ । एक वर्षअघि पार्टी सदस्यता नवीकरणसमेत नगराई राजनीतिक रूपमा किनारा लगाउने रणनीतिमा परेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार भने एमालेको औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा एमालेले बल्खुस्थित मदननगरमा आयोजना गरेको विशेष कार्यक्रममा भण्डारीलाई प्रमुख अतिथि बनाइएको थियो । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने अधिकांश शीर्ष नेताहरू एउटै मञ्चमा देखिएका थिए ।

उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल र गोकर्ण विष्ट, महासचिव शङ्कर पोखरेल तथा उपमहासचिव योगेश भट्टराईलगायत नेताको उपस्थिति एमालेभित्रको बदलिँदो शक्ति समीकरणको संकेतका रूपमा हेरिएको छ ।

एक वर्षपछि फेरियो राजनीतिक दृश्य

गत वर्ष एमालेले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयलाई सामान्य प्रशासनिक प्रक्रिया नभई राजनीतिक रणनीतिका रूपमा व्याख्या गरिएको थियो । पूर्वराष्ट्रपति भइसकेपछि सक्रिय राजनीतिमा फर्किन सक्ने सम्भावना र आगामी महाधिवेशनमा नेतृत्व दाबी गर्न सक्ने आकलनका कारण अध्यक्ष ओली पक्षले भण्डारीलाई संगठनबाट टाढा राख्ने नीति लिएको चर्चा भएको थियो ।

विशेषतः विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले त्यसबेला भण्डारीसँग दूरी बनाएको विश्लेषण गरिएको थियो । तर अहिले तिनै नेताहरू सार्वजनिक रूपमा भण्डारीसँग एउटै मञ्चमा देखिनुलाई एमालेभित्रको ‘पूर्ण बहिष्कार’ रणनीति असफल भएको संकेतका रूपमा बुझिएको छ ।

राजनीतिक विश्लेषक रामप्रसाद अधिकारीका अनुसार एमालेभित्र अहिले दुई तहमा दबाब बढिरहेको छ । पहिलो, मदन भण्डारीको राजनीतिक विरासतसँग जोडिएको भावनात्मक आधार र दोस्रो, अध्यक्ष ओलीपछिको नेतृत्वबारे कार्यकर्तामाझ बढ्दो बहस । उहाँका अनुसार यही कारण भण्डारीलाई निरन्तर अलग राख्न नेतृत्वलाई कठिन बन्दै गएको देखिन्छ ।

भण्डारीको सन्देशमा संगठनात्मक एकताको जोड

स्मृति दिवसका अवसरमा भण्डारीले सार्वजनिक गर्नुभएको सन्देशलाई केवल श्रद्धाञ्जलीका रूपमा मात्र नभई राजनीतिक अभिव्यक्तिका रूपमा पनि हेरिएको छ । उहाँले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ लाई पुनः स्मरण गर्दै एमालेले जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय र संगठनात्मक एकतालाई अहिलेको आवश्यकता उल्लेख गर्दै उहाँले चुनौती सामना गर्न नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य रहेको बताउनुभएको छ । उहाँको अभिव्यक्तिलाई धेरैले वर्तमान नेतृत्वप्रति अप्रत्यक्ष सन्देशका रूपमा पनि व्याख्या गरेका छन् ।

ओलीको प्रतिक्रिया : जबज प्रेरणाको स्रोत

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीलाई युगद्रष्टा सहयोद्धाका रूपमा स्मरण गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले ‘जनताको बहुदलीय जनवाद’ आज पनि जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई निरन्तरता दिन प्रेरणाको स्रोत बनेको उल्लेख गर्नुभएको छ ।

३३ वर्षअघि दासढुङ्गामा भएको रहस्यमय दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भएको स्मरण गर्दै ओलीले समयसँगै उहाँहरूको अभाव अझ गहिरिँदै गएको बताउनुभएको छ । उहाँले मदन भण्डारीले आन्दोलनलाई नयाँ वैचारिक दिशा दिएको र जनताको बहुदलीय जनवादले परिवर्तनको मार्गचित्र तयार गरेको धारणा व्यक्त गर्नुभएको छ ।

‘जनताबाट टाढिँदा एमाले कमजोर भयो’

मदन–आश्रित स्मृति प्रतिष्ठानले कागेश्वरी मनोहरामा आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र युवा’ विषयक विचार गोष्ठीमा एमाले महासचिव शङ्कर पोखरेलले जनताबाट टाढिएका कार्यकर्ताको भरमा चुनावमा जाँदा पार्टीले पराजय भोग्नुपरेको बताउनुभयो । उहाँले एमाले जनतामुखीभन्दा सत्तामुखी बन्दा कमजोर बनेको टिप्पणी गर्दै जनताको बहुदलीय जनवादको कार्यान्वयनमा समस्या देखिएको उल्लेख गर्नुभयो ।

“जनताभन्दा सत्तासँग नजिक हुने प्रवृत्ति विकास भयो । यसलाई सच्याउन नसकेसम्म पार्टी बलियो हुँदैन,” महासचिव पोखरेलले भन्नुभयो । एमालेले एक साताअघि नै देशभर सर्कुलर जारी गर्दै विचार गोष्ठी आयोजना गर्न तथा सञ्चार माध्यममार्फत जनताको बहुदलीय जनवादबारे बहस चलाउन निर्देशन दिएको थियो ।

Facebook Comments Box